राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स विजयी भएको छ । मंगलबार भएको खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखराले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १ रन बनायो ।
पोखराको लागि एडम रोसिङ्टन ५८ बलमा ११ चौका र सात छक्काको मद्दतमा अविजित रहँदै १ सय ८ रनको शतकीय पारी खेले भने जेसन रोयले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । त्यस्तै धनञ्जय लक्षण २३ रन जोड्दा कुशल भुर्तेलले १८ रन बनाए । पोखराले अतिरिक्त छ रन पाएको थियो ।
कर्णालीको लागि नन्दन यादव र मार्क वाटले समान एक-एक विकेट लिए । पोखराले दिएको २०२ को विशाल लक्ष्य लिएर मैदन उत्रेको कर्णाली १९ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
कर्णालीको लागि मार्क वाटले ३४ बलमा चार चौका र पाँच छक्काको मद्दतमा ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै नजिबुल्लाह जद्रानले २४ रन जोड्दा, पवन सर्राफले १९, प्रियांक पञ्चालले १६, सोमपाल कमीले १३ र दिपेन्द्र रावतले १० रन बनाए ।
पोखराको लागि ऋषि धवन र धनञ्जय लक्षणले समान तीन-तीन विकेट लिए भने कुशल भुर्तेल, सन्दीप क्षेत्री र किरण ठगुन्नाको भागमा समान एक-एक विकेट रह्यो । जितसंगै पोखरा पाँच खेलमा दोस्तो जित हासिल गरेको छ र उसको प्लेअफ सम्भावना कायमै रहेको छ ।
यता छ खेलमा दुई अंक जोडेको कर्णालीको प्लेअफ सम्भावना लगभग सकिएको छ । यसअघि मंगलबारै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई ६ विकेटले हराएको थियो ।




प्रतिक्रिया राख्नुहोस्