जन सरोकार
केशरमहल कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई घाइते
काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा प्रहरीसहित दुई जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आज अपराह्न ‘डिउटी’मा रहेका ट्राफिक प्रहरीसहित एक पैदलयात्रीलाई बा प्र ०१–०३० च २३४८ नम्बरको इभी कारले ठक्कर दिएको थियो ।
दुर्घटनामा पहिचान नखुलेका एक पुरुष पैदलयात्रीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते उहाँको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन् ।
अनियन्त्रित भएर दुर्घटना भएको उक्त कारले ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो ।





प्रतिक्रिया राख्नुहोस्