राजनीति

पूर्वाग्रहका कारण ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले वडा नं ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विगत १० वर्ष अगाडिदेखि भौतिक संरचना र अरु सबै प्रावधान पूरा गरेर स्वीकृति माग गर्दा पनि सत्तामा रहेका दलहरूले पूर्वाग्रह राखेर ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिएको उहाँले बताउनुभयो ।

बिजुक्छेँले जनताको सहयोगबाट निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे चर्चा गर्दै सम्पदा संरक्षणमा भक्तपुरका जनताको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गर्नुभयो ।

छिपा ताँसँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि गुणस्तरीय ढङ्गले उपभोक्ता समितिमार्फत गरिरहेकामा उपभोक्ता समिति खारेज गर्ने सरकारको निर्णय निर्माण व्यवसायी पोस्ने र जनताको भावनाविपरीत भएको आरोप लगाउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण हुने बताउनुभयो ।

स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदा ठूल्ठूला भूकम्पबाट पनि जोगिएको भन्दै उहाँले अहिले भएका निर्माण पनि वर्षाैँवर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नपाका उपप्रमुख रजनी जोशी, वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले भूकम्पबाट क्षतिग्रस्त १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११५ भन्दा बढी पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेका हरेक गतिविधि देशभरका जनताले नियालिरहेकोमा अझ जिम्मेवार भएर काम गर्न हौसला मिलेको बताउनुभयो ।

खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायकद्घार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणका लागि रु ४९ लाख ९५ हजार ९७४ भन्दा बढी आर्थिक सहयोग सङ्कलन भए पनि रु ४८ लाख ६९ हजार ८६५ मा निर्माण सम्पन्न गरेको बताउनुभयो ।

त्यस्तै छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले पुलको लगत अनुमान रु एक करोड ९८ लाख ४१ हजार २६६ रहे पनि कूल खर्च रु एक करोड ७७ लाख आठ हजार ७३० मा निर्माण सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु, छिपा ताँ निर्माण उपभोक्ता समितिका अध्यक्ष रामेश्वर प्रजापति र सचिव कृष्णगोविन्द लाखाले ध्वाखा निर्माणमा १८० वटाभन्दा बढी गुठियारबाट आर्थिक सहयोग भएको र ध्वाखा निर्माणका क्रममा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.