अर्थ

मंसिरमा सुन बजार- हप्तामा झण्डै तीन हजार मूल्य बढ्दा पनि दैनिक ४० किलो विक्री

नेपालमा मंसिर महिना विवाहको मौसम भएकाले सुनचाँदी बजारमा नयाँ रौनक छाएको छ । लकडाउनयता सुस्ताएको सुन बजारलाई मंसिरले धानेको छ र सुनको मूल्य बढ्दै गए पनि उपभोक्ताहरुको भीडभाड कम भएको छैन ।

एक हप्तायता सुनको मूल्यमा झण्डै ३ हजारले बढे पनि बजारमा भीडभाड कम भएको छैन भने व्यवसायीलाई माग धान्न हम्महम्मे परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

माग बढेसंगै बजारमा सुनको अभाव भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभएको छ । मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको छ ।

मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको छ । कोरोना र लकडाउनका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको हो ।

बिहेको लगनले गर्दा जिल्ला नगरसहित देशैभरबाट सुनको माग अत्यधिक भएको महासंघले जनाएको छ । मूल्यमा सामान्य उतार चढाब देखिए पनि आवश्यकताकै कारण उपभोक्ताले सुन खरिद गरिरहेका छन् ।

सम्बन्धित खबर

Back to top button