अर्थ

आर्थिक संकटको कालो बादलले घेरिंदै सहकारी- ऋण उठाउन र वचत फिर्ता दिनै सकस

मुलुकमा आर्थिक संकट कायमै छ भन्ने दृष्टान्त एक होइन अनेक छन् । वाणिज्य बैंक, विकास बैंकदेखि साना सहकारी संस्थाहरुमा समेत मन्दी छाएर वचतकर्ताको वचत नै फिर्ता गर्न नसक्ने अवस्था आएको छ ।

एकातिर ऋणिहरुले भुक्तानी गर्न चासो नदिनु, अर्कातिर वचतकर्ताहरुले रकम झिक्दै जानुले संकटमा पर्दै गएका कतिपय सहकारी संचालकहरुले आफ्नो घरजग्गा धितो राखेर वचत रकम फिर्ता गरिरहेका छन् ।

बैंकमा पहुँच हुनेहरुले घरजग्गा धितो राखेर ऋण लिंदै वचत फिर्ता गरिरहेका छन् तर, सहकारीबाट प्रवाह भएको ऋण भने उठाउन सकिरहेका छैनन् र

यस्तै वचत फिर्ता दिन नसकेको र ऋण पनि उठाउन नसकेको एउटा सहकारी हो काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड । सो सहकारीबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।

सर्वसाधारणको रकम बचत लिएर आफू मोटाउने प्रवृत्ति कतिपय सहकारी संचालकहरुको रहेको छ । यस्तो प्रवृत्तिकाबीच इमान्दारीपूर्वक काम गरिरहेका सहकारीहरुप्रति पनि विश्वास डगमगाइरहेको छ ।

वचतकर्ताहरुले समयमै रकम झिक्न नपाउँदै अनेक समस्या भोगिरहेका छन् , उनीहरुले आफ्नो उपचार समेत समयमा गर्न सकेका छैनन् । मञ्जुश्री सहकारीमा वचत गर्नुभएकी काभ्रेपलाञ्चोकको पाँचखाल स्थायी घर भएकी पार्वती दाहाल रकम नपाउँदा मुटुको अप्रेशन गर्न पाउनुभएको छैन ।

विगत दुई दशकदेखि गोर्णेश्वर ८ माकालबारीमा पसल चलाउने दाहाल पसलबाट भएको आम्दानी बचत गरे अप्ठ्यारो परेका बेला काम चलाउन सकिन्छ भनी सहकारीमा पैसा राख्नुभयो । पटक–पटक गरेर दाहालले सहकारीमा रु छ लाख बचत गर्नुभएको छ ।

तर, अहिले अति आवश्यक पर्दा पनि रकम झिकन पाउनुभएको छैन । दशैँअघि नै मुटुको शल्यक्रिया गर्नका लागि सहकारीमा पैसा फिर्ता माग्न जाँदा उहाँले पैसा पाउनु भएन । उहाँले भन्नुभयो, “मेरो आफ्नै उपचारका लागि सहकारीमा श्रीमानले बचत गरिदिनुभएको हो, तर मैले अप्ठ्यारो परेका बेला पैसा पाउन सकिन ।”

सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।

लामाले भन्नुभयो, “बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ ।”

नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता बताउनुभयो ।

“नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्र सहकारी डुबेको होइन, बचत पैसाले घर किनेर धेरै मूल्याङ्कन गरेको सुनेको छु, पैसा घरमा लगाएपछि बचत फिर्ता हुन नसकेको हो, बचत फिर्ताका लागि हामी पनि पहल गर्छौँ”, उहाँले भन्नुभयो ।

भनेकै बेला रकम झिक्न सकिने र ब्याज पनि बढी आउने भएकाले आम मानिसले थोरै थोरै गरी जम्मा गरेको रकम सहकारीमा वचत गर्ने गरेका छन् । सहकारी भनेकै खाँचो पर्दा सजिलै ऋण पाउने भएकाले यसप्रति आकर्षण बढेकै छ । तर, अहिले सहकारीहरुमाथिको विश्वास टुट्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.