जन सरोकार

विश्वको आधा जनसंख्या बराबर प्रति छापिएको गीताको महत्व बुझौं

हरेक वर्षको मार्गशुक्ल एकादशीलाई मोक्षदा एकादशी तथा गीता जयन्तीका रुपमा मनाइन्छ । हिजो मंसिर १८ गते ५१५९ औं गीता जयन्तीका अवसरमा मुलुकको बौद्धिक जगतले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी गीताको सान्दर्भिकतामाथि चर्चा गरिएको छ ।

गीता जयन्तीको अवसर पारेर त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस जनसंख्या अध्ययन विभागले विशेष कार्यक्रम गरी गीताको सान्दर्भिकतामाथि चर्चा गरेको हो ।

कार्यक्रममा पद्मकन्या क्याम्पस जनसंख्या विभागका प्रमुख तथा सहप्राध्यापक भेषनाथ सापकोटाले भागवत गीता र जनसंख्या विषयको सम्वन्धका विषयमा अध्ययन प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संयोजक समेत रहनुभएका सहप्राध्यापक सापकोटाले प्रतिवेदन पेश गर्दै गीताको राम्रोसंग अध्ययन गर्ने मानिसको जन्म सार्थक हुने र आत्म पुर्नजन्म भइरहने विश्वास गर्न सकिने बताउनु भयो ।

गीता संस्कृति, सभ्यता र संस्कारको पाठ सिकाउने महत्वपूर्ण विधाका रुपमा पनि हेर्नुपर्ने भन्दै उहाँले त्यसको महत्व बुझेर नै आज ४ अर्ब प्रति गीता छापिएको र विक्री वितरण भएको बताउनुभयो ।

प्रतिवेदन माथि छलफल गर्दै क्याम्पसका निमित्त प्रमुख राजु मल्लले यस्ता अध्ययन अनुसन्धानले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अन्य विभागलाई पनि यि र यस्ता विषयहरुमा अध्ययन अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

पशुपति वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक प्रयागराज भट्टराइले जन्म, मृत्यू र बसाई सराईजस्ता जनसांखिक विषयहरु महाभारतमा जोडिएकोले यो आफैमा पूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा सह प्राध्यापक डा. उद्धव सिग्देलले महाभारत भनेको जीवन दर्शनको एक महत्वपूर्ण ज्ञान भएकाले हरेक व्यक्तिले एकपटक आफैले महाभारत पढ्ने अठोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्राध्यापक डा. शैलेन्दु प्रकाश नेपालले गीता लोकहितका लागि सर्वोत्कृष्ट कृति भएको चर्चा गर्दै कर्मवाट विमुख नहुने सन्देश दिदै गिताले आत्म संयम, आत्म सम्मान, कर्म, ज्ञान, जिवन र दर्शन जस्ता विषयलाई जोडेको बताउनुभयो ।

यसैगरी, सह प्राध्यापक डा. रामचन्द्र पोखरेलले गिता एउटा धार्मिक ग्रन्थ मात्रै नभईकन नैतिकत ज्ञान, भाइचारा, सामाजिक बन्धुत्व, सत्मार्ग, उच्च शक्ति प्रदान गर्ने एक मुल ग्रन्थ भएको चर्चा गर्नुभयो ।

पद्मकन्या क्याम्पक पत्रकारिता विभागका प्रमुख उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले मानिसमा अत्मचिन्तन, आत्म समिक्षा, धैर्य हुनुपर्ने विषय गीतामा पाइने भन्दै गीताले कर्म, भक्ति र ज्ञानलाई महत्वपूर्ण स्थान दिएको बताउनुभयो ।

कार्यक्रम समापन गर्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक चेतोनाथ सापकोटाले गीतालाई जनसंख्यासंग जोडिनु आफैंमा महत्वपूर्ण पाटो भएकाले गीताले मानिसको जिवनमा आवश्यक पर्ने कर्मयोग, भक्तियोग र ज्ञानयोग गरी ३ वटा योगलाई महत्व दिएको चर्चा गर्नुभयो ।

अध्ययन प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रम पद्मकन्या क्याम्पक प्राङगणमा भएको थियो भने कार्यक्रमको संचालन जनसंख्या विषयकी उपप्राध्यपक राधिका श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.