राजनीतिसमाचार

महाकालीमा भारतीय ज्यादति- सरकारको मौनता अस्वीकार्य

मुलुक निर्वाचनमय भएको र सरकारमा बसेकाहरु आगामी सरकार गठनका लागि मरिहत्ते गरिरहेका बेला भारतले गरेको नेपाल र नेपालीमाथि गरेको ज्यादतिप्रति सरकारको ध्यान पुगेको छैन ।

मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि यति गम्भीर खेलवाड भए पनि सरकार मौन बसेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको कडा बिरोध गर्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

पार्टीका प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौताहरुको विरुद्धमा कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैरजिम्मेवार कार्य भएको बताउनुभएको छ ।

विज्ञप्तिमा कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेका दलहरुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने संस्कारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिएको पनि उल्लेख गरिएको छ ।

सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनुपर्ने बाध्यता बनेको छ । विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठुलो दुर्घटनाको जोखिम बढाएको समेत जनाइएको छ ।

साथै विज्ञप्तिमा पार्टीले नेपाली नागरिकहरुको सुरक्षा, राष्ट्रियताका मुद्दा लगायतका राष्ट्रहितको लागि हाम्रो पार्टीका तर्फबाट सदैव साथ र समर्थन रहने प्रतिबद्धता जनाइएको छ ।

यसैबीच पार्टी अध्यक्ष तथा नवनिर्वाचित सांसद रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाउँदै आफूहरुको पुस्तालाई यो स्वीकार्य नहुने बताउनुभएको छ ।

अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ- “वर्षौंको यो निरीहताको कारण के होला ?’ लामिछानेले प्रश्न गरेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना-पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ? “नयाँ पुस्ताको आगमन भइसकेको छ । त्यसैले अब नयाँ शीराबाट कुरा गरौं । दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौँ । तर, निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।”

दार्चुलामा महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिका घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.