नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाज सामू जितको लागि एक सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको हो । सुदूरपश्चिमको लागि ब्रान्डन म्याकमुलेनले ३६ बलमा तीन चौका र चार छक्काको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान दिपेन्द्र सिंह ऐरीले २५ बलमा तीन चौका र २ छक्का प्रहार गर्दै ४३ रन बनाए ।
यस्तै बिनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन जोड्दा सैफ जैबले ११ रन बनाए । काठमाडौँको लागि रशिद खानले दुई विकेट लिए भने करण केसी, गेर्हार्ड इरास्मस र शाहब आलमकोको भागमा समान एक-एक विकेट रह्यो ।
जारी प्रतियोगितामा काठमाडौँ गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।
त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्