नवनिर्वाचित सांसद भट्टराईद्वारा प्रतिस्पर्धी उम्मेदवारहरुसंग अन्तरक्रिया
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट विजयी हुनुभएकी विद्या भट्टराईले उच्च राजनीतिक संस्कार देखाउँदै आफ्ना प्रतिस्पर्धी उम्मेदवार तथा दलका नेताहरुसंग भेटघाट गर्नुभएको छ ।

सोमबार पोखरामा सांसद भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टिका सुवर्णराज पन्तसंग अन्तरक्रिया गरी सुझाव समेत लिनुभएको छ ।
छलफलमा नेकपा एमाले कास्की क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीका संयोजक तथा जिल्ला कमिटी कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बरालको पनि उपस्थिति थियो ।
सो अवसरमा प्रतिष्पर्धी उम्मेदवारहरूले विकासको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा वर्षको एकपटक सबै नागरिकको पूर्ण स्वास्थ्य परीक्षण, सम विकासको अवधारणा मार्फत शिक्षा क्षेत्रको सुधार, पोखरालाइ पर्यटकीय राजधानी घोषणा गरेर पोखराको समृद्धिमा जोड दिने र प्रभावकारी नीति निर्माणमा संसदमा सकृय रहनका लागि सुझाव दिनुभएको छ।
भेटका अवसरमा भट्टराईले आगामी दिनमा जनप्रतिनिधिका हिसावले सबैका सुझाव सहित समृद्धिको साझा लक्ष्य प्राप्त गर्न प्रभावकारी रुपमा कास्की क्षेत्र नं २ र समग्र कास्कीको विकासका सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले विकास र समृद्धका लागि यस प्रकारका छलफलहरु महत्त्वपूर्ण हुने र यी भेटघाट नियमित गरी आवश्यक सुझाव र ग्रहण गर्ने लल्लेख गर्नुभएको छ। साथै सो अवसरमा भट्टराईले सबैप्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको छ।
प्रतिक्रिया राख्नुहोस्