अर्थकृषि

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

“पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, तनहुँ व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”

छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको उहाँको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही दुःख स्वदेशमै गर्नसके केही होला की भनेर सुन्तलाखेतीमा लागेको थापाले बताउनुभयो ।

थापाले विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सके यहीँ आत्मसन्तुष्टि मिल्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मैले यस वर्ष रु तीन लाख ७० हजारको सुन्तला बिक्री गरेको छु । मेरो २५० बोट सुन्तला रहेको छ । यसलाई अझै विस्तार गर्नसके आम्दानी बढाउन सकिनेछ ।”

थापाले यस वर्ष बेनीकोटमा सुन्तलामा रोग लागेका कारण उत्पादन कमी भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका केही ठाउँमा सुन्तलाका के रोग लाग्यो, बोट नै मर्न थाल्यो । कृषि ज्ञान केन्द्रबाट पनि आउनुभएको थियो, तर के रोग लाग्यो थाहा पाउन सकिएन ।”

कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “विदेश भने पनि सबैको राम्रो कमाइ हुँदैन, विदेशमा गएर उमेर कटाउनुभन्दा सुन्तलाखेतीमा लाग्नुभन्दा केही राम्रो होला भनेर यसमै लागेको छु ।” उहाँले यस वर्ष साढे तीन लाख बढीको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले विगतका वर्षभन्दा यस वर्ष सुन्तलामा उत्पादन कमी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जरो कुहिने रोग लाग्यो, जलवायु परिवर्तनको कारण हो की के हो । कृषकलाई मौसमले पनि ठग्दो रहेछ ।”

अगुवा कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । उहाँका अनुसार यहाँका १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा लागेका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो ।

उहाँले भन्नुभयो, “विगत केही वर्षदेखि यहाँका सुन्तला बोट मर्दै जान थालेको छ । कृषि प्राविधिक आएर हेरेर औषधि पनि सिफारिस गर्नुभयो, तर सुधार भएको छैन ।”

थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उहाँले भन्नुभयो, “प्रतिकेजी सुन्तला रु रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि कृषकहरू सुन्तलाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।”

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । बेनीकोटका १०० घर सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ । कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.