जन सरोकार

बलात्कारको अभियोग लागेका शिद्धबाबालाई अदालतले दियो सफाइ

जिल्ला अदालत सुनसरीले बलात्कार अभियोग लागेका चताराधाम आश्रमका शिद्धबाबालाई सफाइ दिएको छ । एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबामाथि मुद्दा दायर भएको थियो ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सिद्धबाबा (कृष्णबहादुर गिरी)लाई सफाइ दिएको हो । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

फैसलामा भनिएको छ- ‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।

तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै जिल्ला अदालत सुनसरीमा निवेदन दिनुभएको थियो ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा गिरीविरूद्ध २०७६ पुस १० गते मुद्दा दायर भएको थियो । मुद्दा परेपछि जिल्ला अदालतले गिरीलाई कारागार चलानको आदेश दिएको थियो । कारागार चलान भए पनि गिरी थुनामा नबसिकनै बाहिरै बसेका थिए । केही समयपछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए । उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो ।

सम्बन्धित खबर

Back to top button