जन सरोकार

सुराकीको आरोपमा विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि हत्या

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सुराकी गरेको आरोपमा मंगलबार विहान एक शिक्षकको अपहरण गरी गोली हानेर हत्या गरेका छन् । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रहरीले जनाएको छ ।

विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको हो । मंगलबार विहान ६ बजेतिर श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

मक्लाजुङ गाउँपालिका– १ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए । शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए ।स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका– ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका– २ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.