सरकारी सर्वेक्षण भन्छ- "घरमै बसेका ३० लाख व्यक्ति संक्रमित भैसकेको हुनसक्छन्"
नेपालमा मंसिर २३ गते मंगलबारसम्म कोरोना भाइरस संक्रमितको कूल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ भने देशभर १ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । तर यो आधिकारिक तथ्यांकभन्दा निकै अत्यधिक बढी मात्रामा कारोना संक्रमित भएको हुनसक्ने एक सरकारी सर्वेक्षणले देखाएको छ ।
आधिकारिक रुपमा कोरोना संक्रमितको संख्या त्यति भए पनि संक्रमणको दायरा निकै फराकिलो रहेको र घरमै बसेका १० प्रतिशत मानिसमा संक्रमण भैसकेको हुनसक्ने स्वास्थ्य मन्त्रालयले गरेको परीक्षण सर्वेक्षणको प्रारम्भिक परिणामले देखाएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा नेपालका सातै प्रदेशका ७७ मध्ये ७५ वटा जिल्लामा गरिएको रगत परीक्षण सर्वेक्षणले त्यस्तो नतिजा देखाएको हो ।
सेरोसर्भेइलेन्स भनिने त्यस्तो परीक्षणको निम्ति प्रत्येक प्रदेशबाट ४५० वटा नमुना सङ्कलन गरिएको थियो । जसमा भाइरसविरुद्ध लड्ने “एन्टिबडी” विकास भएको छ कि छैन् भन्ने हेरिएको थियो । मन्त्रालयका अनुसार उनीहरू आफू सङ्क्रमित रहेको थाहा नभएर घरमै बसेका र सङ्क्रमितको सरकारी तथ्याङ्कमा त्यो सङ्ख्या नजोडिएको हो ।
यो सर्वेक्षणको नतिजाको विश्लेषणले झण्डै ३० लाख नेपालीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरिएको बिबिसिले सार्वजनिक गरेको छ ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार बालकदेखि बृद्धसम्म सबै उमेर समूहमा एन्टिबडी देखिएको छ । त्यसले उनीहरूमा कुनै बेला सङ्क्रमण भइसकेको थियो भन्ने जनाउँछ ।
डा. पाण्डेका अनुसार हिमाल र पहाडको तुलनामा तराईका जिल्लामा त्यो सङ्ख्या धेरै देखिएको बताउँदै यसबाट धेरैजसो मानिसहरू सङ्क्रमण भए पनि घरमा बसेका छन् भन्ने देखिन्छ । सर्वेक्षणले स्थान विशेषमा समुदायस्तरमा महामारी फैलिएको देखाएको छ ।
उहाँका अनुसार “काठमाण्डू र प्रदेश २ मा समुदायमा फैलिएको देखाउँछ तर देशव्यापी रूपमा समुदायमा फैलिएको भन्न मिल्दैन । ठाउँ अनुसार अवस्था फरक छ ।”
उक्त सर्वेक्षण नेपालमा सङ्क्रमितको सङ्ख्या निकै बढेका बेला भएको थियो । त्यसैले थप बिस्तृत अध्ययन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनभाइसका ८० प्रतिशत सङ्क्रमितमा रोगको कुनै लक्षण नदेखिने गरेको पाइएको छ । त्यसैले नेपालमा पनि सङ्क्रमित भएर पत्तो नपाएका मानिसको सङ्ख्या धेरै हुनसक्ने ठानिन्छ ।
प्रतिक्रिया राख्नुहोस्