राजनीति

पौडेल समूहबाट सभापतिको साझा उम्मेद्वार बनाउने कसरतमा

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा इतर समूहबाट सभापतिका साझा उम्मेद्वार टुङ्गो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।

कांग्रेस

बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेद्वार बनाउन सुझाएको छ ।

बैठकमा सहभागी अधिकांश नेताले पार्टीमा निरन्तर लामोसमयदेखि त्याग गरेका सर्वस्वीकार्य नेतालाई सभापतिको उम्मेद्वार बनाउन सुझाएका छन् ।

संयुक्त बैठकपछि चाक्सीबारीमा अपराह्न ३ बजे शीर्ष नेताहरुसहितका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले साझा उम्मेद्वारको टुङ्गो लगाउने केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “व्यक्ति नटुङ्गिए पनि छलफल केही साँघुरिएको छ, बेलुकासम्म सभापतिको उम्मेद्वार टुङ्गो लाग्छ ।”

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका पूर्व सभापति, वर्तमान सभापतिलगायतसँग बसेर छलफल गरिएको र विभिन्न कोणबाट सुझाव आएकाले पुनः केन्द्रीय सदस्य तथा पदाधिकारीसहितको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता पौडेल केहीसमय बसेर बाहिरिनुभएको थियो । चारजनामध्ये आफू पनि सभापतिको उम्मेद्वार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले सबै नेता उम्मेद्वारका लागि उत्तिकै योग्य भए पनि अहिलेको परिस्थितिमा कस्तो व्यक्तिलाई उठाउँदा उपयुक्त हुन्छ, पार्टीमा निरन्तर योगदान गरेको र आगामी दिनको चुनौतीलाई सामना गरेर अघि बढ्नसक्ने नेतृत्व चाहिन्छ भनेर बैठकले सुझाएको बताउनुभयो ।

निवर्तमान जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापतिका आकांक्षी चार नेता बसेर साझा धारणा बनाएर ल्याउन बैठकले अनुरोध गरेको बताउनुभयो ।

हिजो मङ्गलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

देउवाद्वारा निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button