बिचार

यस्तो छ यःमरि : प्रचलनको किंवदन्ती

आज यःमरि पूर्णिमा (थिंला पुन्हि)को दिन हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई यःमरि पुन्हि भन्ने गरिएको हो ।

धेरै पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो जो अहिले काभ्रेपलाञ्चोकको पनौती हो । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एक राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए ।

उनै राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको छ । त्यस स्थानलाई अहिले ‘नमोबुद्ध’ भनिन्छ । ‘पाञ्चाल देश’ अर्थात् पनौतीमै महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा पनि लाग्ने गर्दछ ।

लिच्छविकालीन ग्रन्थमा समेटिएको घटनाक्रमअनुसार यःमरि पूर्णिमा (थिंला पुन्हि)को प्रचलन पनौतीबाट सुरुआत भएको मान्दै आइएको स्थानीय वृद्ध बताउँछन् । उतिबेलाको पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले यःमरिको प्रचलन पनौतीबाट भएको पुष्टि गर्न सकिने स्थानीय राजाराम कर्माचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले यःमरिको प्रचलन सुरुआत पनौतीबाट भएको विश्वास गर्दै आएको हौँ ।”

कर्माचार्यका अनुसार पनौतीको इतिहासकै आधारमा नेपालका अन्य स्थानका विशेषगरी नेवारी समुदायले यःमरि पूर्णिमा धुमधामकासाथ मनाउँदै आएका हुन् । अहिले यो पर्वले सबै समुदायलाई मोहित बनाउँदै लगेको पाइन्छ ।

महासत्वलाई गौतमबुद्धको पूर्वजन्म पनि मानिँदै आइएको छ । ग्रन्थअनुसार तत्कालीन पाञ्चाल देशमा एक सुचन्द्र नाम गरेका महाजन थिए । धर्मात्मा सुचन्द्रले आफ्नो दयालु श्रीमतीसँग जीवन गुजारा गरिरहँदा सन्तान अभावको पीरमा भगवान् विष्णुको प्रार्थना गर्थे ।

मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर रोटी (यःमरि) पकाउन लाग्दा भगवान् कुवेरले भेष बदलेर गरिब ब्राह्मणका रूपमा उनीहरुका घर आएर भिक्षा माग्न थाल्नुभयो ।

सुचन्द्रकी श्रीमतीले एउटा गरिब बूढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर माया जाग्यो र ब्राह्मण रूपधारी कुवेरलाई आफ्नो घरभित्रै बोलाएर ब्राह्मणले लगाएको पुरानो झुत्रो लुगालाई नयाँ फेरिदिएपछि अन्त ठाउँ जान हतारिएका ब्राह्मणलाई पुनः एकछिन घरमा बस्न अनुरोध गर्दै तातोतातो रोटी यःमरि खान अनुरोध गर्दा श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले कुबेर प्रसन्न भई आफ्नो असली रूप देखाएर साक्षात् भगवान कुबेर अन्तर्धान हुनुभएको थियो ।

त्यसअघि कुबेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी यःमरिका साथ विधिपूर्वक पूजा गर्न अनुरोध गर्नुभएको थियो । कुवेर उनीहरूको घर आएको दिन मङ्सिर शुक्ल पूर्णिमा थियो । पूजाकै प्रभावले दुई दम्पती सुखपूर्वक रहन थाले ।

दिन, हप्ता, महिना, वर्ष हुँदै यो कुरा सबैतिर फैलिन थाल्यो । त्यसपछि सबैले यःमरि पुन्हिका दिन घर लिपपोत गरेर यःमरि बनाई धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र कुवेरको प्रतीक राखेर विधिपूर्वक पूजा गर्ने चलन चलाए । त्यो बेलादेखि नेवार समुदायमा घरघरमा यःमरि पकाई खाने चलनको थालनी भएको मानिन्छ । यही दिन पनौतीको धनेश्वरमहादेवमा ठूलो मेला लाग्ने भएकाले मेला भर्न टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।

लिच्छविकालीन ग्रन्थमा उल्लिखित सुचन्द्र महाजनको कथा अंशु बर्मा पालाको बौद्ध ग्रन्थ ‘रत्नबदाने बुद्ध वचन’मा पनौतीमा सुचन्द्र महाजन दम्पतीको बसोबास भएको उल्लेख भएको पाइन्छ । कथाका पोख्त स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार यःमरिको विषयमा पनौतीबाहेक कुनै ग्रन्थ तथा ऐतिहासिक दस्तावेजमा पाइँदैन ।

पनौतीबाटै सुरुआत भएको भन्नेबारे पुस्तौँदेखिका स्थानीय वृद्धहरूले बताउँदै आउनुभएको छ । यःमरिको प्रचलनबारे बुझ्ने जो–कोहीले कोङ्गालाई भेटेपछि विश्वस्त भएका निकै उदाहरण पनि भेटिन्छन् ।

स्थानीय साहित्यकार सूर्यप्रसाद लाकोजूले यःमरिसँग जोडेर पनौतीको कथा प्रकाशित गर्नुभएको छ । उहाँको कथामा यःमरिको बारेमा पाञ्चाल देशसँग जोडेर यसको सुरुआत र प्रचलन विस्तारबारे विस्तृतमा उल्लेख गर्नुभएको छ । उहाँले पनि पनौतीबाट जन्मेको यःमरि पर्व हाल विस्तार भएर नेपालका कुना–काप्चामा पुगिसकेको जनाउनुभएको छ ।

“यो पर्व पनौतीको महत्वपूर्ण पर्वहरूमध्ये एक हो, चाडपर्वको क्षेत्रमा यो पर्वको विशिष्ट स्थान छ”, लाकोजूले भन्नुभयो । ‘यमरी’ नेपाल भाषाको शब्द हो । ‘य’ को अर्थ मनपर्ने र ‘मरि’को अर्थ रोटी हो । यसरी ‘यः मरी’ लाई अथ्र्याउँदा यसको शाब्दिक अर्थ ‘मन पर्ने रोटी’ हुन्छ । प्रायः चाकु र तील हालेर बनाइने यो रोटी विशेष किसिमको माटोको भाँडा ‘पोटासी’ मा बफाएर पकाउने गरिन्छ ।

लाकोजूका अनुसार दुईदेखि १२ वर्षसम्मका बालबालिकाको जोर वर्ष परेको जन्मदिनमा (२, ४, ६, ८, १०, १२) बालकको वर्षअनुसारको यमरी राखी माला बनाएर जन्मदिनमा लगाइदिने प्रचलन छ । बाह्र वर्ष नाघेपछि भने यःमरिको माला लगाई जन्मदिन मनाउने चलन छैन ।

त्यस्तै गर्भवतीलाई बच्चा जन्मनुभन्दा पहिले माइतीका तर्फबाट यःमरिसहित विभिन्न परिकारको भोज खुवाउने चलन पनि हालसम्म चलेको छ । नेवार समुदायमा बूढाबूढीको जड्को (भीमरथारोहण) गर्दा पनि यःमरि चाहिन्छ । उपत्यकाको रातो मच्छेन्द्रनाथ र सेतो मच्छेन्द्रनाथको रथ तान्नुअघि यःमरि छर्ने प्रचलन अद्यावधि कायम छ । यसप्रकार यःमरिको नेपाली संस्कृति र संस्कारमा ठूलो स्थान रहेको देखिन्छ ।

यस दिनमा पनौतीको काठगणेशमा धुमधामसँग जात्रा लाग्ने गर्दछ । पूजाआजासहित खटमा राखिएका गणेशलाई नगर परिक्रमा गरिने यो जात्राको पनि विशेष महत्व छ । स्थानीयले बिहान यःमरि पकाइ खानुअघि यःमरी राखेर नगरभित्रका देवीदेवताको पूजा गर्न जाने चलन छ । बेलुका शुद्धगरी छुट्याइ राखेको अमरीका साथ कुमार, गणेश, कुवेर र लक्ष्मीको यसरी पूजा गरेको यमरीलाई चार दिनपछि भक्तिपूर्वक अर्चना गरी प्रसादका रूपमा बाँड्ने प्रचलन पनि छ ।

डा चन्द्रा बज्राचार्यका अनुसार विशेषगरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात् यःमरि पकाई खाने गर्दछन् र त्यही विशेष रोटीको नाममा उक्त पूर्णिमाको नाम नै ‘यःमरि पुन्हि’ रहन गएको हो । यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, यःमरि पुन्हि, धान्य पूर्णिमा, गैंडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ । दशैँमा पहिले जमरा छरेर उखेलिसकेपछि मात्र धान काट्ने काम सुरु गर्ने र यःमरि पुन्हिसम्ममा धान भित्र्याइसक्नुपर्छ भन्ने धारणा रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.