राजनीति

राष्ट्रप्रमुख राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान शासनपद्धति असफल भैसकेको बताउँदै यसलाई सफल बनाउन नेताहरुले नै सुधार गर्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँले अब मुलुकको अभिभावकका रुपमा संवैधानिक राजसंस्था, कार्यकारी प्रमुखमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने र सांसदलाई मन्त्री बन्नबाट रोक्नुपर्ने माग पनि गर्नुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरु असफल भएको र असफल भएको राजनीतिलाई सफल बनाउने काम नेताकै भएकाले अब सो व्यवस्था गरी सांसदलाई मन्त्री हुनबाटै रोक्नुपर्ने पनि माग गर्नुभयो ।

आजभोलि गाउँघरमा नेता गए भने जनताले अपमानजनक नजरले हेर्ने गरेको बताउँदै उहाँले नेपाली कांग्रेसको महाधिवेशनले नयाँ नेतृत्व चयन मात्र हैन नयाँ विचार पनि पारित गरोस् भन्ने शुभकामना समेत दिनुभयो ।

त्यसै गरी माले महासचिव सिपी मैनालीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा आफ्नो झण्डामा लेखेको देशकै अग्रणी पार्टी नेपाली कांगेसले केही अर्ब रुपैयाँका लागि देशघाती काम गर्न नहुने र यसमा खबरदारी महाधिवेशनले गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसअघि विदेशी पाहुनाका तर्फबाट सम्बोधन गर्दै भारतीय जनता पार्टी (भाजपा)का नेता हर्षवर्द्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सुदृढ र स्थिर नेपालको पक्षमा रहेको बताउँदै भूकम्प र कोरोना महामारीको समयमा भारतले सहयोग गरेको स्मरण गर्नुभयो ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच पछिल्लो पटक दुई पटक सम्वाद भएको भन्दै उहाँले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको दिलको धड्कनलाई मैले नजिकबाट सुनेको छु । उहाँ सुदृढ, स्थिर र मजुबुत नेपालको पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button