राजनीति
राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौँ ल्याइयो
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि झापाबाट काठमाडौँ ल्याइएको छ ।
केही दिनदेखि अस्वस्थ उहाँमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उहाँलाई बिहिबार बेलुकी ७ः३० बजे काठमाडौँ ल्याइएको हो ।
नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उहाँलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ । उहाँको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट भने आएको छ ।