राजनीति

“निर्वाचपछि कांग्रेसको सरकार बनाउने जिम्मा मेरो” : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए ।

पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।”

स्थानीय र सङ्घीय सरकार कांग्रेसकै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गर्नुभयो । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनसंरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई कांग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “१४औँ महाधिवेशनमा सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गरौँ, नसके स्वच्छ प्रतिस्पर्धा गरौँ”, उहाँले भन्नुभयो ।

अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिनुभयो । उहाँले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ ।

उहाँले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताउनुभयो ।

विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उहाँको भनाइ थियो । उहाँले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कोषाध्यक्ष सितादेवी यादवले विपीजस्ता महामानव र गणेशमान सिँहजस्ता त्यागीको इतिहास रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवशेन बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।” नेताहरूको सम्बोधन गर्ने क्रम जारी छ ।

त्यसै गरी नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ । डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । “कांग्रेसको चारतारे झण्डामुनी बसेर समाजवाद खोज्न म कांग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । राजधानी काठमाडौँबाट फर्केलगत्तै गाउँगाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गर्नुभयो ।

“लोकतान्त्रिक शासन व्यवस्था र यसको मूल्यमान्यतामाथि चुनौती देखिएको छ, आगामी निर्वाचन कांग्रेस सरकारको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र बनाएर विद्यमान चुनौतीलाई पन्छाउनुपर्छ, त्यसका लागि परिवर्तन र सुधार आफैँबाट गरेर जनतामा जानुपर्छ”,उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.