राजनीति

कांग्रेस सभापतिमा रामचन्द्र दौडबाहिर, त्रिपक्षीय भीडन्त हुने

नेपाली कांग्रेसको सभापति पदका प्रवल दावेदार वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।

पौडेलले संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरे पनि उहाँको नाममा सहमति नभएको र शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने अडान राखपछि उहाँले दौडबाट आफूलाई अलग गर्नुभएको हो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गर्नुभएको छ भने संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारी छ ।

एउटै पक्षबाट दुई सभापतिको उम्मेदवारी पर्ने भएपछि पौडेलले एक विज्ञप्ति जारी गरी आफू सभापतिको उम्मेदवारीबाट पछि हटेको जानकारी दिनुभएको हो ।

उहाँले प्रतिस्पर्धाबाट आफू अलग भए पनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन पौडेलले कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button