सभापतिमा डा कोइराला र निधिको उम्मेदवारी, देउवा पनि उम्मेदवार तय गर्दै
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला र विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गरिसक्नुभएको छ । त्यस्तै सभापतिका उम्मेदवार कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ ।
शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।
सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेको एक नेताले जानकारी दिए ।
यसै गरी सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे (पाँचथर), दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव (धनुषा), खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर (बर्दिया), थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी (बारा), मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही (हुम्ला) लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी (झापा), श्याम घिमिरे (सिन्धुली), नारायणबहादुर कार्की (उदयपुर), कृष्णबहादुर कार्की (नवलपरासी पूर्व), गेहेन्द्र गिरी (दाङ), प्रकाश अधिकारी (चितवन), गोविन्दबहादुर शाह (अछाम) तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण (सिराहा), नानु बास्तोला (काठमाडौँ), चम्पा खड्का (बागलुङ), कान्तिका सेजुवाल (जुम्ला), लीला नेपाल (सिन्धुपाल्चोक) र विद्या तिमिल्सिना (बाजुरा) लाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्