पूँजीवादले निम्त्यायो जलवायु सङ्कट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिकरूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिँउ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । स्थानीय तहबाटै हाम्रो प्राकृतिक स्रोत तथा साधनको उपयोग हामी आफँैले गर्ने गरी योजनाबद्ध प्रयास गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष प्रचण्डका अनुसार संविधानमार्फत स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको वर्ग क्षेत्र, तह तथा तप्कालाई मिलाएर एकाधिकार पूँजीवादका विरुद्ध सङ्घर्ष गर्नुपर्छ ।
प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रियरूपमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्