जन सरोकार

विपन्नको जाडो छल्ने सहारा ‘घुर’

महोत्तरी जिल्लाका गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बूढाबूढी र स–साना लालाबाला कसरी जोगाउने चिन्ता देखिन्छ । खास गरी चरम गरिबीको चक्रले घिसारिएका यहाँका मुसहर, चमार, मेस्तर र डोम जाति समुदायका बस्तीमा बिजोग देखिन्छ । अहिले यस्ता गरिब बस्तीमा जाडो छल्ने मुख्य सहारा नै ‘घुर’ बनेको छ ।

“हात, गोडा ठिङ्रिए, घुर बाल्नु है”, भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरी टोलकी हेमनी सादाले १० वर्षीया नातिनी रचनीलाई अह्राउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने सहारा नै टोलमा बालिने ‘घुर’ बन्ने गरेको छ । ‘घुर’ अर्थात् पातपतिङ्गर बटुलेर आगो बालिने काम ।

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको ‘घुर’मा पच्पची निस्कने गन्हाउने धुँवाबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महिनाभरि यी गरिब जाति समुदायको जाडो छल्ने मुख्य सहारा हो । जिल्लाका सबैजसो भेगमा बसोबास देखिने मुसहर समुदायको पराले झुप्राका बस्तीमा साँझ, बिहान ‘घुर’ का चारैतिर झुरुमुट्ट बसेर न्यानो खोजेको दृश्य देखिन्छ । ‘न राख्ने धन, न साँच्ने अन्न’ आहानमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने जाडोमा न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुँवाको मुस्लो निस्कने ‘घुर’ वरिपरि बसेर न्यानो खोज्नु यी गरिबको नियति हो ।

यहाँ जुनसुकै भेगका मुसहरका लागि जाडोको साझा सहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा बर्दिवास, भङ्गाहा, बलवा, औरही, गौशाला, लोहारपट्टी, मनराशिशवा र मटिहानीसहितका नगरपालिका र एकडारा, सोनमा, महोत्तरी र पिपरा मुसहरका सघन बसोबासका स्थानीय तह हुन् । यी जुनसुकै स्थानीय तहका मुसहर बस्ती पुग्दा थुरथुर जाडोले कामेका बालबालिका र वृद्धवृद्धा ‘घुर’ वरिपरि देखिन्छन् ।

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका ‘घुर’ नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि ‘घुर’ वरिपरि बूढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजिरहेका भेटिन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा ‘घुर’को चलन बाक्लो देखिन्छ ।

किशोर र तन्नेरी यी बस्तीमा देखिँदैनन् । १३÷१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर !” भङ्गाहा–४ को मुसहर बस्तीका माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका जुगल सादाले खोकीबीच नै भन्नुभयो, “उनीहरू त पञ्जाव गए’ छन् ।” किशोर र तन्नेरीहरू पञ्जाव नगए मुखमा माड नलाग्ने जुगलको थप भनाइ छ ।

जिल्लासहितका पूर्वीमध्य तराईमा वर्षेनी हिंउँदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरिबी र अशिक्षाले रुमलिएका मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको बर्दिवास–१२ बिजलपुराको मुसहरीटोल नजिकको चल्की बस्तीका कल्पराज कोइराला बताउनुहुन्छ । यी जाति समुदायलाई मानवोचित जीवन जिउनु भनेकै रुखोसुखो खान पाउनु र जाडो छल्न राम्ररी बल्ने ‘घुर’का लागि सुकेको पतिङ्गरको उपलब्धता नै बुझेका देखिने गरेको सामाजिक अभियानकर्मीसमेत रहनुभएका उहाँको भनाइ छ ।

दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरिबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर !” भङ्गाहा–४ पलारको बाँतरटोलकी पल्टीदेवी बाँतर भन्नुहुन्छ, “सबै कुरा पैसाले नै गर्ने रे’छ, जाडोमा बाहिर निस्कन सकिएको छैन, पुस, माघ आउनै बाँकी छ, काममा निस्कन नसकेपछि लालाबालाको मुखमा माड कसरी लाग्ला ?” जाडो बढेपछि एकाबिहानै काममा निस्कन नसके बनीबुतो (जन मजदुरीको काम) छुट्ने र गुजारामा समस्या बढ्ने उहाँको थप भनाइ छ ।

मङ्सिर निगल्दो नै लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका ‘घुर’ ताप्दा त्यसबाट निस्कने विषाक्त धुँवाले श्वाँसप्रश्वाँसका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसैपनि ससाना वालवालिका, महिला र बुढापाकालाई निमोनिंयाले गाँज्ने गर्छ” बर्दिबास–१२ कै बासिन्दा स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “झन् धुँवा रुमलिएको घुर ताप्न बस्दा श्वाँसप्रश्वाँसका बिरामी झन् बढ्ने नै भए ।” राम्ररी नसुकेको पतिङ्र, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धुँवाले यस्ता बिरामी अझ बढेका झाको निष्कर्ष छ । खासगरी दलित बस्तीका बूढापाका, सुत्केरी र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या अहिले बढेको जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाले जनाएका छन् ।

मङ्सिर मध्ययता नै जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा डम्म हुस्सु लाग्दै आएको छ । पुस र माघमा झन् चिसो सिरेटो बहने र बाक्लो हुस्सु लाग्ने क्रम बढ्ने जनाइएको छ । अहिले मध्यदिन नभई घाम नदेखिने भइसकेको छ । ती समयमा अक्कलझुक्कलमात्र घाम देखिने विगत भोगेका बनिबुतो गरेर जीवन चलाउने गरिब श्रमिक सकसमा परेका छन् । चिसोले गरिब बस्तीलाई गाँजे पनि जिल्लाका स्थानीय तहले भने राहतका कुनै कार्यक्रम चलाएको देखिँदैन । गरिब बस्तीमा वर्षेनी जाडो याममा बिरामी हुने आम कुरा भए पनि सम्वद्ध निकायले यसको पूर्वतयारीमा ध्यान दिनु जरुरी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button