राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुपर ओभरमा विराटनगर किंग्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । बिहिबार भएको पहिलो खेलमा पोखरा र विराटनगर दुबैले एक सय ३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
सुपर ओभरमा पोखराले १८ रन बनाएपछि विराटनगरलाई जितको लागि १९ रनको लक्ष्य दिएको थियो । सुरुआती ब्याटिङ गरेको पोखराको लागि रेमन रेइफर र आन्द्रेश गौस ब्याटिङ गर्न आएका थिए भने बलिङमा सन्दीप लामिछाने आएका थिए ।
सन्दीपको सुरुवाती दुई बलमा रेइफरले दुई छक्का प्रहर गरे भने तेस्रो बल डट हुँदा चौथों बलमा चौका प्रहर्र गरेका रेइफरले पाँचौं बलमा एक रन लिंदै गौसलाई स्ट्राइक दिएका थिए र उनले अन्तिम बलमा एक रन बनाएपछि पोखराले १८ रन बनाएको थियो ।
तर विराटनगरले रेमन रेइफरको बलमा पाँच रनमात्र बनाएपछि खेल पोखराले १३ रनले जितेको हो । यो एनपिएलमै पहिलो पटक सुपर ओभरमा गएको खेल हो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनाएको हो । विराटनगरका लागि स्कट एडवार्ड्सले ३५ बलमा छ चौका प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए भने लोकेश बमले २६ रङ जोड्दा निकोलस किर्टोनले १९ रन बनाए ।
त्यस्तै बसिर अहमदले २० बलमा एक चकको मदतमा अविजित २१ रन बनाए । पोखराका लागि सागर ढकालर रेमोन रेइफरले समान दुई-दुई विकेट लिए भने कुशल भुर्तेल र दिनेश खरेलको भागमा समान एक-एक विकेट रह्यो ।
विराटनगरले दिएको १४० रनको लक्ष्य लिएर मैदान उत्रेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । पोखराको लागि आन्द्रेस गौसले २७ बलमा ७ चौकको मद्दतमा ३९ रन बनाए भने रेमन रेइफरले २३ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३४ रनको अविजित इनिङ खेले ।
यस्तै कुशल भुर्तेलले ३१ रन जोड्दा दिनेश खरेल र माइकल लिस्कले समान ११-११ रन बनाए । विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने क्रिस सोलको भागमा दुई विकेट रह्यो ।
प्रतिक्रिया राख्नुहोस्