“शेयर बजारलाई जुवा र साम्राज्यवादको विकसित रूपको संज्ञा दिनु अल्पज्ञानको उपज”
विवेकशील साझा पार्टीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै “धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूप” भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै बिरोध गरेको छ ।

आज पार्टी प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको जनाउँदै यस्तो अभिव्यक्तिले गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पूँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो ।
पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ । बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न भन्दै यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन सुझाव समेत दिइएको छ ।
त्यसै गरी विज्ञप्तिमा पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन नसकेको उल्लेख गर्दै धितोपत्र बोर्डको अध्यक्ष र स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्