समाचार

तरलताको अभाव कायमै, निरन्तर घट्दै निक्षेप

चालू आर्थिक वर्षका प्रथम चार महिना मुलुकको अर्थतन्त्र संकटग्रस्त बन्दै गएको छ । बजारमा तरलता अभाव पूरा गर्न राष्ट्र बैंकले रिपो जारी गरिरहे पनि अपेक्षाकृत सुधार आउन सकेको छैन ।

पछिल्लो समय घटिरहेको वाणिज्य बैङ्कको निक्षेप सङ्कलन मङ्सिर महिनामा पनि रोकिएन । मङ्सिर तेस्रो साता बैङ्कमा सात अर्ब रुपियाँ निक्षेप थपिए पनि चौथो सातामा आएर पाँच अर्बले घटेको छ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार मङ्सिर चौथो साता पाँच अर्ब रुपियाँ निक्षेप घट्दा पनि वाणिज्य बैङ्कले सात अर्ब रुपियाँले कर्जा विस्तार गरेका छन् । वाणिज्य बैङ्कमा निक्षेप थपिने क्रम रोकिए पनि कर्जा प्रवाह तुलनात्मक रूपमा केही बढी छ । निक्षेप बढ्न नसक्दा कर्जा विस्तारको आकार भने खुम्चँदै गएको छ ।

मङ्सिर महिनामा मात्रै वाणिज्य बैङ्कबाट १२ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैङ्कहरूले ४२ अर्ब रुपियाँले कर्जा विस्तार गरेका छन् ।

वाणिज्य बैङ्कहरूले चालू आर्थिक वर्ष सुरु भएयता अर्थात् साउनदेखि मङ्सिर २४ गतेसम्ममा तीन खर्ब ५५ अर्ब रुपियाँ कर्जा विस्तार गरेका छन् भने २० अर्बले मात्र निक्षेप थपिएको छ । अहिले वाणिज्य बैङ्कहरूको कर्जा निक्षेप अनुपात ९१.२४ प्रतिशत पुगेको छ ।

मङ्सिर महिनाको २४ सम्ममा बैङ्कहरूले कुल ४२ खर्ब २१ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने सोही अवधिमा बैङ्कहरूले कुल कर्जा ४० खर्ब ७७ अर्ब रुपियाँ पुगेको छ ।

राष्ट्र बैङ्कको व्यवस्थाअनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button