बिचार

वेमौसमी कुम्भ मेला र वेतुका प्रश्न

आज पनि नेपाललाई कृषिप्रधान मुलुक नै मानिन्छ । सायद नेपालको अधिसंख्यक ग्रामीण क्षेत्रका वासिन्दाको जीवनवृत्ति कृषि पेशा, व्यवसायमा नै आधारित भएको र राष्ट्रिय आयको मुख्य आधार नै कृषि अर्थतन्त्रपरक भएकोले ‘कृषिप्रधान मुलुक’ भन्ने गरिएको होला । यद्यपि उक्त परम्परागत पहिचानलाई किसानका सन्तानहरुको विदेश पलायनको बढ्दो आकर्षणले खण्डित गर्दैछन् । तर आगामी दिनमा र वाध्यात्मक परिस्थितिले पेशा परिवर्तन गरी आफ्ना छोराछोरीलाई विदेश पठाएर उनैका कमाई (रेमिट्यान्स) मा बाँच्नेहरुको देशका रुपमा चिनिन पनि सक्ला । त्यो पाटो र वाटोतिर नलागौं, किनकि यहाँ चर्चा गर्न खोजिएको प्रसङ्ग अर्कै नै छ ।

गाउँघरतिर आज पनि असारलाई “मानो खाएर मुरी उब्जाउने महिना” भनिन्छ भने मंसीरलाई “खेती भित्र्याउने चटारोको महिना” । तर यस वर्ष असार महिनामा आएको विनाशकारी बाढी पहिरोले पहाडका भीरपाखाका किसानहरुका घर गाउँवस्तीहरु भत्कायो । बेसीका उर्वरा फाँटलाई बाढीका चपेटामा पारेर ढुंगो र वालुवामय बनायो । पहाड पाल्ने तराईका फाँटका किसानका घरवस्ती बाढीग्रस्त भए । एक त देशको उत्पादन र उत्पादकत्वका मूल आधार युवावर्गले गाउँ बेसी रित्याउँदै गएको स्थिति छ । नेपालीको खानेवानी (फूड ह्याविट) परिवर्तन हुँदै जाँदा नयाँ पुस्ताका चाहना र माग पूरा गर्न प्रत्येक वर्ष अस्वाभाविक र देशको अर्थतन्त्रले धान्नै नसक्ने भुक्तानी सन्तुलन विग्रने गरि खाद्य सामाग्रीको आयातकोभारले मुलुकका दूर दराजका गरीव विपन्न मात्र नभई शहरी निम्न आय भएका, मध्यम वर्गीय समेतमा जीवन निर्वाहका समस्या बढीरहेको छ ।

अर्काे तर्फ “पूर्वाधार विकासको आधार भनेकै हरेक गाउँवस्ती र टाठाबाठाका घर आगनसम्म मोटर बाटो पु¥याउनु नै हो” भन्ने कोरा र अवैज्ञानिक सोचाईले वर्षेनी पहाडमा भइरहेको कहालीलाग्दो जन र धनको क्षति छ । त्यसमा पनि जलवायु परिर्वनका कारण कहिले असमयमा नै अत्यधिक वर्षा, कहिलेको खडेरी जन्य प्राकृतिक प्रकोप ।

त्यस्तै चौतर्फी विपदको गोल चक्करमा अधिसंख्यक नेपाली कृषक उम्किनै नसक्ने गरी फसिरहेको बेलामा सहयोग र उद्धार गर्नुपर्छ भन्ने सम्म नसोची, सहानुभूति देखाउन समेत नसकेका दलहरुले यस्तै किसानको खेती थन्क्याउने माचामाचको वेला महाधिवेशनको महोत्सव राखे । यसलाई मात्र संयोग भन्ने कि आम किसानहरुप्रति असीम उपेक्षा र वेवास्ता भन्ने ? संयोग यसलाई यसकारण भन्न नसुहाउने र सरासर असत्य र अनुपयुक्त हुन्छ, किनकि सबै पार्टीका महाधिवेशनमा आउने बहुतायत प्रतिनिधि दूरदराजबाट नै आएका मानिन्छन्, देखिन्छन् । यही कारणले पनि नेपालमा “राजनीतिक पेशा व्यवसाय” गर्नेहरु जति “किसानी बावु बाजेका सन्तान हुँ भन्ने फेशन फरस्त, तर कृषकका पीर, पीडा, कथा–व्यथाबारे वेखबर भइसकेका, या त हुँदा खाने विपन्न निम्न वर्गीय श्रमिकका श्रममा रजाई गर्दै आएका वडा गाउँदेखि जिल्ला प्रदेश र राजधानीमा बसेर कुनै न कुनै नेता र सत्ताका राजनीतिक कार्य कर्ता छूट भैय्या उप÷सहायक नेता हुन् । यात बेशर्मी पेशेवर । माक्र्स लेलिनका शब्द सापटी लिएर भन्ने हो भने “पेटी वुर्जुवा, साना मझ्यौला शासक सामन्तहरु” हुन् । नेपालको राजनीति धेरथोर बुझ्ने आम नागरिकको यस्तै मान्यता र मूल्यांकन रहेछ । अझ रा.प्र.पा.का नवनिर्वाचित एवं रा.प्र.पाको टिकट लिएर प्रतिनिधिसभामा झापा जस्तो सचेत र कम्युनिष्टको बलियो जिल्ला (लाल किल्ला)बाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद राजेन्द्र लिङ्देनका शब्दमा नै भन्ने हो भने “गाउँ–बेसीका कुनै दलको नेता आफ्ना गाउँ वस्तीतिर आयो घरतिर भने “चोर आयो” भन्छन् रे !

हुन पनि नेपाली जनताले सात दशकसम्म सात किसिमका शासनसत्ता फेर्दै र फाल्दै “उन्नत लोकतन्त्रात्मक गणतान्त्रिक शासन प्रणाली” स्थापित गरी नेपाली जनताका प्रतिनिधि आफैले बनाएको संविधान अनुसारको शासनकाल हो आज । त्यही आम जनताले आफ्ना नेतालाई “चोर” भन्दै सीमान्त अशोभनीय, आपराधिक र घटिया शब्दावली प्रयोग गरेर संवोधन गर्न पुग्नु पछाडिको कारण र निवारण गर्ने वाचा कवोल गर्नुपर्दथ्यो कि पर्दैनथ्यो ?

तर त्यसबारे सोच्दै नसोची उल्टै गाउँघरतिर सुनेका कुरा जस्ताको त्यस्तै सुनाउने लिङ्देनलाई सबैले एकमुखले गाली गर्ने र दुत्कार्ने काम ने.का. को १४ औं महाधिवेशको उद्घाटन सत्रमा गरियो । त्यतिमात्र होइन । २०७४ सालमा भएको निर्वाचनपछिदेखि “राजनीति”लाई “जनताको सेवा गर्ने वैध माध्यम वा जनताबाट प्राप्त अनुमति” ठान्ने राजनीतिक संस्कृतिको मूल्य, मान्यता र परिभाषा हेय र त्याज्य ठानियो ।

बरु संघीयताको सुदृढीकरण, शासन सत्ताको हस्तान्तरण र रुपान्तरणको नाममा पहिले राणा र पछि शाहवंशीय सीमित शासकका मुठ्ठीभरले जसरी नेपाल खाल्डोभित्रका २÷४ वटा दरवार भित्र बसेर आफ्ना हुक्मानमा जारी गर्दै राज्यको शरहदभित्र बस्नेलाई “रैती–प्रजा” भन्ने र उनीहरुलाई कमाईका माध्यम बनाई कज्याई आएका थिए । त्यसरी नै आज देशलाई ७६१ साना ठूला राज्यमा सीमाङ्कित, बिभाजित र कित्ताकाँट गरी हरेक दलले आफ्ना कार्य कर्तालाई रजाई गर्ने कानूनी हैसियत दिए पाएको अवस्था देखियो ।

त्यसै सन्दर्भमा गाउँघरमा कूलपूजा, दियाली (पूर्वतिरका कतिपय समाज समुदायका शब्दमा– (गोठ धूप गर्ने) मंसीर महिनामा प्रायः दलका पाँच वर्षे ठूला साना राजा वा मुखिया छान्ने राजनीतिक पेशा व्यवसायीको पनि राष्ट्रिय मेला र भेला परेछ । माथि भनेझैं आफै कमाई गरी खानेलाई नै मंसीरमा धान कोदो स्याहार्ने, गहुँ छर्ने माचामाच हुने हो । अरुलाई कज्याई खानेहरुलाई के असार के मंसीर ? त्यसैले आफूलाई किसान, गरीब, विपन्न वर्गका मसीहा भन्नेहरुले मंसीर लाग्दा नलाग्दै नारायणी र राप्तीको किनारामा कुम्भ मेला भर्न मेची महाकाली, तराई हिमालका सबै भाडाका कार्यकर्ता र भजने भजनलाई जिल्ला सम्म सवारी साधन पु¥याएर बोकाइ ल्याई शक्ति प्रदर्शन गरियो होला भन्ने लाग्छ ।

संयोग भन्ने कि “करनीको भरनी ?”

पवित्रतम गीतामा श्री कृष्णले– “ये यथा मां प्रपद्यन्ते, तां– तथैव भजाम्यहम्” भनेका थिए । त्यो धर्मशास्त्र नपढेका घरगाउँका लाटा सोझाहरुले पनि “जस्ले जस्तो गर्छ, दैवले उसलाई पनि उस्तै भोग्न वाध्य पार्छ” भन्ने गर्छन् । तराई मधेसतिर “जैसी करनी, वैसी भरनी !” यसपटकका नेपालभरबाट मंसीर महिनामा चाहे नारायणी र राप्तीमा कुम्भ मेला भर्न आएकाहरु हुन्, चाहे वाग्मती विष्णुमती बीच सोहोरिएका होउन् । जो जस्ले जीवनभर जे जस्तो षडयन्त्र, विश्वासघात, धोखा–धडी, धूत्र्याई र फट्याईको राजनीतिक पेशा व्यवसाय गर्दै आएका थिए । तिनीमध्येका कतिपय अग्रणीहरुलाई कसैले नारायणीबाट लगेर राप्ती बगरमा गाडे, कसैले वाग्मती– विष्णुमतीको बगरमा लगेर वगरवास गराएको देख्नु पढ्नु सुन्नु प¥यो ।

भनिन्छ, “भगवानको घरमा ढिलो होला, सँधै अध्याँरो हुँदैन ।” कसैले माधवलाई सीमान्त धोका दिएर घोर पापकर्म गरेका थिए । कसैले गणेश र कृष्णप्रति अनास्था, घृणा बढाउँदै उनीहरुका ठाउँमा आफूलाई स्थापित गर्ने अपचेष्टा गर्दै रहेका थिए । उता सधैं “त्रि–मूर्तिले” आफूलाई नै सबैभन्दा ठूलो, सर्वश्रेष्ठ (व्रह्मा, विष्णु, महेश्वर) ठान्नेहरुलाई ससम्मान ठूलाठूला दूलामा राखेर आफूले उनैका पालादेखि पूज्दै आइएका “नराणां च नराधिपम्” को भक्तजनका रुपमा अगाडि आएको देखिदै छ ।

अझ अलि स्पष्ट गरौं– आफूलाई नै पञ्च पाण्डवका वलशाली भीमजस्तै आफ्नो दलमा देखिन खोजेका भीमहरुलाई आफूलाई महाभारतकै “घनश्याम–श्रीकृष्ण”को जस्तो मायावी ठानेर कुरुक्षेत्रमा उत्रिएका उतारेका घनश्याम स्वयं निःशस्त्र र निर्वस्त्र भएपछि मात्र महारथीको मिथ्या वोध गरेको देख्नुप¥यो । त्यस्ताले भीमलाई बचाउने शक्ति र उपाय पनि के ? उहिलेको नेपालको “शकुनी खेल”का वग्रेली “च्याँखेवाजहरु”ले अहिलेको राजनीतिक बजारलाई जसरी कालाबजारिया, तस्कर, कमिशन एजेण्ट, माफिया जमाखोरी गरे, ऐनमौकामा वी.आई.सी.सी. र सिंहदरमा लगेर मनलाग्दी मूल्यमा विक्री गर्ने अवसर जुन पाइरहेछन् भलै मुलुक डुब्ला उनीहरुको व्यापार व्यवसाय किमार्थ घाटामा जाने, डुब्ने लाग्दैन । पक्कै तिनीहरु नै मौजूदा मुलुकको “मूल पाश्र्वनायक र नियन्त्रक” होलान् । त्यस्तैे विश्वास लाग्दै छ ।

नेपालमा शासन सत्ता नियन्ता अन्ततोगत्वा ने.का.नै हुनुपर्ने रहेछ । भलै उसलाई (ने.का.लाई) “विस्थापित र मटियाभेट गरिछाड्छौं, पचासौं वर्ष कम्युनिष्ट झण्डा सगरमाथामा गाडेर राख्छौ, र नेपालको शासन गर्छाै” भन्नेहरुलाई नेपाली जनताले दुई तिहाइ हाराहारीको प्रचण्ड बहुमत दिएर सत्ता सुम्पिएका किन नहोऊन् । “शासन हाँक्ने काँग्रेस नै हुनुपर्छ, सडकका रेलिङ ढाल्न र टायर बाल्न कम्युनिष्टहरु नै चाहिने रहेछ” भन्ने मान्यता स्थापित गरेर म्याद नपुग्दै विदा भए । त्यही र त्यस्तै कारणले होला, चाहे काँग्रेस पक्षधर होउन् अथवा सधैं “काँग्रेस नासियोस् मासियोस्” भन्नेहरु होउन् । सबैलाई यसबेला ने.का.को भोलीको नेतृत्व कस्ले गर्ला भन्ने खुलदुली तिव्ररुपमा रहेको पाइन्छ ।

तर मलाई आज मात्र होइन । १३ औं महाधिवेशको निर्वाचन नतीजा नआउँदैदेखि नै के विश्वास थियो र छ भने “जसरी १३ औं महाधिवेशनमा सबै घोर्ले स्यालहरु “मिले पनि एउटा शेर ढाल्न सक्तैनन्, त्यस्तै ने.का.का लागि नेतृत्व गर्नसक्ने आजका प्रतिस्पर्धीमध्ये शेरबहादुर तयार भए र बाँचेसम्म निःशंक उनै नै पार्टी र सरकारको नेता हुने हुन् भनेर जे भन्दै आएको हो, त्यस बेला त्यही सत्य सावित भयो । त्यही विश्वास १४ औं महाधिवेशनमा पनि यथावत् छ । हल्ला अति चले पनि झण्डै आधादर्जन स्यालको भीड लिएर शेरको शेखी झार्न अग्रसर भएका ‘मरियल स्याल’ शेरको अगाडि नै नपरी दूम लुकाएर, “शेरको निगाहा भए राष्ट्रपति पाउँला” भन्ने आशाको मृगतृष्णा बोकेर भागे ।

यस्तोमा अब नेतृत्व कस्ले पाउला ? भन्ने प्रश्न निर्वाचन अगावै उत्तरित भइसकेको छ । अन्यथा नतीजा आए नवौं आश्चर्य नै भन्नुपर्ला । पुस्तान्तरणका “स्याल हुइँय्या…” मच्चाउनेहरुको बारेमा जहाँसम्म प्रश्न छ, कुनै योजना, दूरदृष्टि, समयबद्ध ठोस् र विश्वास उत्पन्न गर्ने कार्यक्रम विना केवल जन्ममितिका खोस्टा लिएर “चीर वीर” गर्ने फिस्टाहरु जस्ले जिते हारे पनि आखीरमा शेरबहादुरका पुच्छरका झिँगा धपाउने” बाहेक कुनै भूमिका निर्वाह गर्न सक्ने होइनन् । त्यसैले त्यस्ताको विश्लेषण र प्रक्षेपणको अर्थ छैन, रहेन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button