राजनीति

प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, पहिलो बैठकमा प्रमुख प्रतिपक्षको अबरोध

पुनःस्थापित प्रतिनिधिसभाको अघिल्लो अधिवेशनका सबै बैठकमा अबरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठकमा पनि अबरोध गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो र बैठकमा स्वागत गर्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।

लगत्तै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ ।

पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराउनुभयो ।

जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उहाँले आग्रह गर्नुभयो ।

सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभयो ।

तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए ।

सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद् मनोनयन गर्नुभयो । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.