दोस्रोचरणमा सभापतिमा निर्वाचित हुने डा. कोइरालाको दावी
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ ।

सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताउनुभयो ।
कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्तगर्नुभएको थियो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनःमतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्