राजनीति

विरोधबीच प्रतिनिधिसभाको बैठकमा छ अध्यादेश पेश

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नुभयो ।

मन्त्री बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री बडूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक अबरुद्ध गर्दैै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button