नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ– प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत रहने बताउनुभएको छ ।

बुधबार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न खेल विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महारथी शर्माले स्वर्ण पदक प्राप्त १४ खेलाडी र ३२ जना प्रशिक्षकलाई प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गर्नुभयो ।
प्रतियोगिताका नयाँ राष्ट्रिय कीर्तिमानधारी आठ खेलाडीको पदोन्नतिका साथै २६ औँ विश्व मिलिटरी तेक्वान्दो प्रतियोगिता २०२२ मा पदक प्राप्त तीन जना खेलाडीलाई पुरस्कार प्रदान गरियो ।
बलाधिकृत रथी सरोजप्रताप राणाले प्रतियोगिताका रजत पदक तथा बलाध्यक्षरथी सीताराम खड्काले कास्य पदक विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन भएको थियो । सो अवसरमा सेनाप्रमुख शर्माले राष्ट्रिय खेलकुदमा पाएको सफलताबाट सेनाले गौरवान्वित महसुस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डका रूपमा रहेको यथार्थलाई पुष्टि गर्न प्रतियोगिताबाट मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ ।”
प्रतिक्रिया राख्नुहोस्