हिमाल कीर्ति राख्न आरोहण गर्ने थलो मात्र हैन…
विश्वमा भैरहेको तापक्रम वृद्धिका कारण नेपालका हिमालयहरु असुरक्षित बन्दै गएका छन् । यी हिमालहरु केवल साहसी पर्यटनसंग मात्रै जोडेर सफल आरोहणको गौरबमा रमाउने मात्र कि हिमाल पनि जोगाउने भन्ने चिन्ता गर्नुपर्ने बेला आएको छ । एकातिर जलवायु परिवर्तनका कारण हिउँ पग्लदै जाने र अर्कातिर अन्धाधुन्द आरोहण अनुमतिले हिमालहरुमा फोहर थुप्रिदा हिउँभन्दा फोहरमैला बढी देखिन थालेको छ ।
जलवायु परिवर्तनमा भूमिका खेल्ने र यसलाई काम गर्न भूमिका निर्वाह गर्ने मुलुकहरुबचि सामूहिक सहकार्य हुन सकेन भने पृथ्वीको तापक्रम यसरी बढ्ने छ कि अबको आधा शताब्दीमा पृथ्वीको जनसंख्या नै अहिलेको भन्दा आधा घट्ने चेतावनी विज्ञहरुले दशक पहिले नै दिएका छन् । तैपनि औद्योगिक राष्ट्रहरु आफ्नो समृद्धिमा अबरोध खडा गरेको भन्दै जलवायु प्रदूषण कम गर्ने सम्झौताहरु उल्लंघन गरिरहेका छन् ।
यसै मेसोमा गत शनिबार चिली र इटालीसँगको साझेदारीमा फ्रान्स, संयुक्त अधिराज्य तथा संयुक्त राष्ट्रसंघले संयुक्तरूपमा जलवायु महत्वाकाक्षा सम्मेलन भयो । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरित यात्रामा एकसाथ अघि बढ्न नेपालले सबै मुलुकहरूबाट साथ पाउने अपेक्षा गरेको उल्लेख गर्दै जलवायुसम्बन्धी महत्वाकांक्षा लागू गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक भएको बताउनुभयो । त्यस्तै उहाँले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन रहेको स्पष्ट गर्नुभयो ।
अब प्रश्न उठ्छ– विश्वको तापक्रम वृद्धिमा नेपालको योगदान कति छ र नेपालले जलवायु परिवर्तनबाट भोगेका समयाहरु केके हुन् भन्नेबारेमा विश्वका धनी मुलुक, जो यसका प्रमुख कारक छन, उनीहरुलाई बताउने काम औपचारिकतामै सीमित भएको छ । नेपाल जलवायु परिवर्तनबाट सर्वाधिक प्रभाव परेका पाँच मुलुकमा पर्दछ, विश्वको सर्वोच्च शिखरदेखि विश्वकै सबैभन्दा होचो स्थान रहेको नेपालको जैविक, प्राकृतिक र भौगोलिक विविधतामा जलवायु परिवर्तनले ठूलो समस्या निम्त्याइरहेको छ । हिमालमा लामखुट्टे देखापर्नु, तराईको तपक्रम घट्दै जानु, हिमालको बढ्दै जानु, हिउँ पल्गेर हिमनदीहरु बढ्नु र हिमनदी फुट्ने खतरा बढ्दै जाने नेपालको मात्र नभएर दक्षिण एसियाकै समस्या हो । नेपालका हिमालय नै दक्षिण एसियाको पानीको स्रोत हो । तसर्थ जलवायु परिवर्तनको असरबाट बच्न हिमालय जोगाउनु अत्यावश्यक छ ।
जलवायु परिवर्तनकै कारण नेपालका ग्रामीण क्षेत्रहरूमा यसअघि कहिल्यै नदेखिएको झार–बुट्यान देखिन थालेका छन् । फलफूल तथा अन्नबालीहरू पनि बेसमयमै पाक्ने, सुक्ने र डढ्ने गर्न थालेका छन् । बारीमा साग–सब्जीदेखि जंगलमा पाइने फलफूल तथा चराचुरुङ्गी र जडिबुटी समेत घट्दै गएका छन् । प्राकृतिक रुपमा छाडिएका वन जंगलको मात्र के कुरा आरक्ष घोषित गरिएका स्थानमा समेत चराहरू लोप हुन लागेको समाचार विवरण प्रकाशित भएका छन् । वातावरण जोगाउन वा शुद्ध राख्न वन जंगलको संरक्षण र जैविक विविधता कायम गर्नुपर्छ ।
नेपालकै कुरा गर्ने हो भने विगत २ दशकयता वन जंगल बढेको तथ्यांक छ । जंगल बढेर मात्र हुँदैन त्यहाँ जनावरहरूका लागि उपयुक्त वनस्पतिहरू पनि चाहिन्छ । सल्लाको रुखो जंगलमा न कुनै चराचुरुङ्गी हुन्छ न कुनै जनावर नै । अहिले बढेको जंगल यस्तै मात्र हो । चितवनमै जंगल बढेको बताइन्छ तर त्यहाँ संरक्षित बाघ र गैडा घटिरहेका छन् । यसको एउटै कारण भनेको ‘इको सिष्टम’ कायम नहुनु हो । न बाघका लागि उपयुक्त वावस्थान र आहारको प्राप्ति हुनसक्यो न गैडाको वासस्थान र आहार । यसका अतिरिक्त चोरी शिकारी उत्तिकै छ । जंगल त बढ्यो तर जंगली जनावर घटे । जनावरहरूको आहारका साथै औषधिजन्य वनस्पतिहरूको साटो अनेकथरि झार–बुट्यानमात्र उम्रिए, जसले माटोको उर्वरा शक्तिमा समेत ह्रास आइरहेको छ ।
वातावरण प्रदूषण र जलवायु परिवर्तनको मार नेपालजस्ता मुलुकहरूमा छिटै पर्ने निश्चित छ । नेपालमा यसको पर्याप्त संकेतहरू देखापरिसकेका छन् । खाद्यान्न उत्पादनमा कमी, मनसुनमा पर्याप्त वर्षा नहुनेु लामो समयसम्म खडेरी पर्नु र बाढी, पहिरोका समस्याहरू बढ्दै गएका छन् । यी संकेतहरू देखिए पनि वातावरणीय शुद्धता र प्राकृतिक सन्तुलनमा नेपालको ध्यान पर्याप्त मात्रामा पुग्न सकेको छैन । जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याहरूको कसरी सामना गर्ने भन्ने विषयमा स्पष्ट नीति आउन सकेको छैन ।
प्रकृतिसंग कसैले विजय पाउन सक्दैन । धन र शक्ति भएका राष्ट्रले पनि प्राकृतिक विपत्तिको कुनै रोकथाम छैन भन्ने बुझेर पनि बुझ पचाइरहेका छन् । नेपाल जस्तो प्राकृतिक स्रोत साधनले भरिपूर्ण तर गरिब र कमजोर अर्थतन्त्र भएको मुलुकमा जलवायु परिवर्तनले कुनै एक क्षेत्रलाई मात्र होइन अनेक पक्षलाई प्रभाव पारिरहेको छ । यसका अतिरिक्त हाम्रो आफ्नै कारणले पनि नेपालमा वातावरणीय प्रदूषण बढिरहेको छ । फोहरमैलाको उचित व्यवस्थापन हुन नसक्नु, वनजंगल विनाश हुनु, विकासका नाममा वातावरणीय प्रभावको मूल्यांकन नगरिनु, नदी तथा पानीका स्रोतहरू दूषित हुनु जस्ता अनेक कारणहरू रहेका छन् ।
माटोको उर्वराशक्ति घट्दैछ । प्राङ्गारिक खेती गर्नुपर्ने ठाउँमा अनेक किसिमका रासायनिक पदार्थको प्रयोग गरेर खाद्यान्न नै विषाक्त हुँदै गएको छ । धनी मुलुकहरू जैविक खेतीतिर आकर्षित भैरहे पनि गरिब र विकासोन्मुख मुलुकहरूमा रासायनिक मल अनुदानमा उपलब्ध गराएर उनीहरूको बाँच्ने आधार नै समाप्त पार्दैछन् । नेपाल जस्ता परम्परागत कृषि प्रणालीमा धानिएको मुलुकको कृषि उत्पादन हरेक वर्ष घट्दै जानुको मुल कारणमध्ये यो पनि एउटा प्रमुख पक्ष हो । जलवायु परिवर्तनबाट प्रत्यक्ष देखिएको प्रभावहरूमध्ये खाद्यान्न तथा फलफूल उत्पादनमा आएको अत्यधिक ह्रास हो । जलवायु परिवर्तनको मार नेपाली समाजले भोगिरहेको छ । संकट पर्नै नपर्ने समयमा खाद्यान्नको चर्को संकट हुन थालेको छ ।
हिमालदेखि सागरसम्म अन्योन्याश्रित भौगोलिक सम्बन्ध भएका नेपालजस्ता मुलुकहरूमा जलवायु परिवर्तनले के कस्तो धक्का दिने हो त्यो अकल्पनीय छ । अहिले जेजस्ता संकेतहरू देखिएका छन् यो त सुरुवात मात्र भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार अहिलेकै अनुपातमा तापक्रम वृद्धि हुने र वातावरण शुद्धतातर्फ ध्यान नदिने हो भने ५ दशकको हाराहारीपछि नेपाल हिमाली देशको रुपमा रहने छैन । सम्पूर्ण हिमालका हिउँ पग्लिने छन् भने तराईका समथर भूभाग जलाम्मे हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्