अर्थ

बिजुलीको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ फड्को, बंगलादेश निजी क्षेत्रसंग सहकार्य गर्ने तयारीमा

जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक नपालमा जलविद्युतको अपार सम्भावना रहेको र आन्तरिक खपतदेखि निर्यातसम्मका स्पष्ट नीति र याजना बन्ने हो भने उत्पादित बिजुली विक्रीको बजार अभाव छैन ।

यसबीचमा सरकारी तहसंग विद्युत खरीद सम्झौता गरेका बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरहेको बताउनुभएको हो ।

अर्को महत्वपूर्ण कुरा के छ भने नेपालमा उत्पादित बिजुली खपत नभएर खेर गइरहेको अवस्थामा बंगलादेशले नेपालमा उत्पादन हुने बिजुली आउँदो वर्षबाटै खरिद गर्नेसमेत प्रतिबद्धता जनाएको छ ।

बंगलादेशको यो तयारी नेपालका लागि यो महत्त्वपूर्ण उपलब्धि रहेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

त्यसै गरी राज्यमन्त्री हमिदले नेपालबाट बिजुली आयातका लागि प्रसारणलाइनको पूर्वाधार सुदृढ गर्ने र डेडिकेटेड लाइनसमेत निर्माण थालनी गरिने बताएका छन् । बंगलादेशले सन् २०२६ सम्ममा नेपालबाट ३५ सय मेगावाटसम्म बिजुली खरिद गर्ने र त्यसका लागि पूर्वतयारीको काम सन् २०२२ को मार्चभित्र सकिसक्ने प्रतिबद्धता जनाएको छ ।

बंगलादेश ऊर्जा विकास बोर्डलाई नेपालमा सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग सीधै विद्युत् खरिद सम्झौता गराउने गृहकार्य सुरु गर्नेछ ।

बंगलादेशको तयारी र प्रतिबद्धतालाई मूर्त रूप दिन नेपाल सरकारले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको वातावरण बनाइदिनुपर्ने परिसंघका अध्यक्ष अग्रवालको सुझाव रहेको छ ।

नेपालले अहिले विद्युत् प्राधिकरणमार्फत मात्रै बिजुलीको व्यापार गरिरहेको छ । निजी क्षेत्रबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले विद्युत् व्यापारको अनुमति मागिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.