देउवालाई पौडेलको सुझाव- लोकतन्त्र र संविधान खतरामुक्त छैन, एकताबद्ध कांग्रेस आवश्यक
यसपटक पार्टी सभापति बन्ने आकांक्षामा आफ्नै समूहका नेताले धोका दिए पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएको बताउँदै सोही दिशामा अघिबढ्न शुभकामना दिनुभएको छ ।

नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बुधबार बिहान बधाई दिँदै पौडेलले लोकतन्त्र र संविधान अहिले पनि खतरामुक्त नभइसकेको अवस्थामा सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुग्नुपर्ने बताउनुभएको छ ।
पौडेलले राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको बताउँदै सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी रहेको जनाउनुभएको छ ।
उहाँले यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता भएकाले सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्नुभएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका देउवा कांग्रेसको १४ औँ महाधिवेशनमा दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्