प्रधानमन्त्री ओली अध्यादेश र अध्यक्ष प्रचण्डले संसद अधिवेशनको माग फिर्ता लिने
मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता हुने भएको छ । नेकपाका सांसदहरु संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति निवास पुगेपछि प्रधानमन्त्री ओली र अधयक्ष प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली अधयादेश लिन सहमत हुनुभएको हो ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको छ । दुई अध्यक्षबीचको सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको छ । स्थायी कमिटीको बैठकअघि बालुवाटारमा भएको प्रधानमन्त्री ओली र प्रचण्डको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार हुनुभएको हो ।
स्थायी कमिटी बैठक बस्न नसकेपछि बुधबार दिउँसो स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसालसहितको असन्तुष्ट नेकपाका सांसद संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् अध्यादेश २०७७ जारी गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । नेकपा स्थायी कमिटीमासमेत यही विषयमा छलफल हुँदैछ ।
मंसिर २१ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताइए पनि ठोस छलफल हुन भने सकेको छैन ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत पेश गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्