पुनः मतगणना हुँदा मल्ल नै विजयी
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कालिकोटको खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाउनुभएको थियो भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लड्नुभएका कार्कीले १४१ मत पाउनुभएको थियो ।
कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नुभएको थियो ।
जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र आज पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताउनुभयो ।
मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहनुभएकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिनुभयो । “विकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो ।
अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्