आजको पूँजीवादको चरित्रप्रति मेरो विश्लेषण सही : प्रचण्ड
नेपालको शेयर बजारलाई जुवा र साम्राज्यवादको चरम रुप भनी दिएको अभिव्यक्तिको आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको बताउनुभएको छ ।

बिहिबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले शेयर बजारप्रतिको आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको दावी गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले भन्नुभएको छ, आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिको विरोध जनाउनुभएको थियो ।
ओलीलाई जवाफ दिंदै प्रचण्डले विज्ञप्तिमा, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु’ भन्नुभएको छ ।
त्यस्तै अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर ओलीले लगाएको आरोपको पनि खण्डन गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्