राजनीति

स्वास्थ्य सामग्री खरिदको छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र लेख्ने निर्णय

सार्वजनिक लेखा समिति बैठकको फाइल फोटो

कोरोना भाइरस संक्रमण सुरु भएपछि स्वास्थ्य सामग्री तथा उपकरण खरीदमा अनियमितता भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा उपस्थित स्वास्थ्यमन्त्री ढकालले भने हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको बताउँदै ओम्नी समूहले सामान ल्याउन नसक्नेपछि सम्झौता रद्द गरेर धरौटीसमेत जफत गरेकाले भ्रष्टाचार भयो भन्नु गलत हुने तर्क गर्नुभएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरी १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भएको थियो ।

लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको र रातारात गरिएको सम्झौतामा बजार मूल्य समेत नहेरी अत्याधिक महँगोमा स्वास्थ्य सामाग्री खरिद गरेको पाइएको लेखा समितिले बताएको छ ।

मन्त्रालयबाट कागजपत्र मगाएर गरेको अध्ययनमा कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा. खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको पाइएको छ ।

सम्बन्धित खबर

Back to top button