साहित्य

विकलको स्मृतिमा स्रष्टाहरु पुरस्कृत

नेपाली भाषा साहित्यमा बहुआयामिक व्यक्तित्व आख्यानकार रमेश विकलको १४ औँ स्मृति सभा तथा रमेश विकल साहित्य प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न भएको छ ।

पुस ३ गते शनिबार आरुबारीस्थित नवअरुणिमा विद्यालयमा भएको कार्यक्रममा नेपाली भाषा साहित्य तथा समाजसेवाका क्षेत्रमा विशिष्ठ योगदान दिने व्यक्तित्व तथा संस्थालाइ पुरस्कृत गरिएको हो ।

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा वरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो ।

समारोहमा ५० हजार रुपैयाँ राशिको विकल वाङ्मय पुरस्कार साहित्यकार प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिएको छ भने १५ हजार रुपैयाँ राशिको विकल समाजसेवा पुरस्कारबाट डाक्टर रवीन्द्र सम्मानित हुनुभयो ।

त्यसै गरी १० हजार रुपैयाँ पुरस्कार राशिका विकल सृजना पुरस्कार विमल निभा, विकल—सुशीला संघर्षशील नारी पुरस्कार लक्ष्मी प्रतिष्ठान, विकल बाल साहित्य पुरस्कार कार्तिकेय घिमिरे तथा विकल कला सङ्गीत पुरस्कार चित्रकार पूर्ण हेजुलाई प्रदान गरिएका छ ।

प्रतिष्ठानले विकलका रचनामा आधारित रही ‘बाल साहित्यमा नैतिक चेतना’ शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने देवकी आचार्यलाई ‘चन्द्र शेखर विकल शोध सम्मान’ अर्पण गरेको छ भने त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य (एमफिल) तहमा ‘विकलका कथामा अनुभूतिको संरचना’ शीर्षकका शोधकर्ता योगेश काफ्ले र ‘विकलका कथामा समाख्यानात्मक वाच्यत्व’ शीर्षककी शोधकर्ता शान्ति न्यौपाने (रिसाल)लाई अर्पण गरिएको छ।

सोही अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रिसाल सहित वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष के के कर्माचार्य, उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेल, महासचिव विजय चालिसे, एमालेका नेता रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, पुरस्कृत स्रष्टा प्राध्यापक डाक्टर चूडामणि बन्धु लगायतले विकलको बहुआयामीक व्यक्तित्वबारे चर्चा गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुको स्वागत गर्दै प्रतिठानका महासचिव वरिष्ठ पत्रकार तथाा साहित्यकार विजय चालिसेले रमेश विकल साहित्य प्रतिष्ठानको स्थापनादेखि हालसम्मका गतिविधिहरुमाथि संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो ।

पुरस्कार अर्पण समारोहपछि सम्पन्न भएको प्रतिष्ठानको १५ औं साधारणसभाले अध्यक्ष रोचक घिमिरेकै नेतृत्वको कार्यसमितिलाई आगामी कार्यकालका लागि सर्वसम्मन रुपमा चयन गरेको छ

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.