राजनीति

हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने

देशका विभिन्न शहरहरुमा राजसंस्था पुनःस्थापनाको माग गर्दै स्वःस्फूत प्रदर्शन भैरहेका बेला सो मुद्दा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापनाको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।

शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा सो मुद्दा बोकेर आन्दोलनमा जान लागेको जानकारी दिनुभएको हो ।

अध्यक्ष राणाले पछिल्लो समय देशभर हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा व्यापक जनआवाज उठिराखेकोले त्यसमा राप्रपाको समेत समर्थन रहेको बताउँदै अहिलेको बहुमत प्राप्त सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको र त्यसको पूर्ण रुपमा विरोध गर्दै मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनरस्थापना गर्न दवाव दिन पनि आन्दोलन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष राणाले महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको बताउनुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको र अव हुने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारी नियन्त्रण गरी आर्थिक विकास गर्न सरकार पुर्णरुपमा असफल भएको बताउँदै जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button