राजनीति

राष्ट्रपतिलाई प्रधानमन्त्रीको किचेन क्याबिनेटको विश्वासिलो सदस्यबाट माथी उठ्न आग्रह

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव फिर्ता गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन माग गर्नुभएको छ ।

संसद विघटनको सिफारिशपछि एक विज्ञप्ति जारी गरी मिश्रले प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएको भए पनि यसपटक मन्त्रिपरिषद्को सिफारिस सदर नगरी त्यो गरिमा बचाउन आव्हान गर्नुभएको हो ।

मिश्रले संसद विघटनको सिफारिस सम्बन्धमा संघीय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल थाल्न पनि सुझाव दिनुभएको छ ।

त्यस्तै अध्यक्ष मिश्रले संसद विघटनको सिफारिसलाई राष्ट्रघाती कदम भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम ठहर्याउनुभएको छ ।

मिश्रले ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको बताउँदै नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको समेत स्मरण गराउनुभएको छ ।

मिश्रले ‘संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ । सो अधिकारको प्रयोग नै नगरी निहीत स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् ।’

सम्बन्धित खबर

Back to top button