जन सरोकार

योमरी, धान्य पूर्णिमा र उँधौली : फरक नाम, मर्म एउटै

हिजो मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन ॐ कार परिवारभित्रका तीन सम्प्रदायले मनाउने प्रमुख तीन चाड जसको नाम फरक भए पनि भाव भने एउटै छ । खस आर्यले धान्य पूर्णिमाका रूपमा खेतबारीबाट आएका नयाँ धानलगायत अन्नको पूजा आराधना गरेका छन् ।

यस दिन नयाँ अन्न कूलदेवतालाई चढाएर कूलपूजा गर्ने परम्परा पनि खसआर्यका धेरै वंशमा हुनेगर्छ । यसअघि नवान्नप्राशन गर्न नपाएकाले आजैका दिन नवान्नप्राशन गर्छन् । धान्य पूर्णिमा पर्व मनाउनुको मुख्य उद्देश्य नयाँ अन्नको पूजा आराधना गर्ने र देवतालाई चढाएर कृतज्ञता ज्ञापन गर्ने शास्त्रीयविधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

खस आर्यका धेरै थर भएका बन्धुबान्धव एकै स्थानमा जम्मा भई कूल पूजा गर्छन् । जसलाई दियाली पनि भनिन्छ । कूलदेवता, इष्टदेवता, ग्रामदेवतालाई नयाँ अन्न चढाएर मात्र आफूले खाने सनातनदेखिको विधिका आधारमा यो पर्व मनाउन थालिएको हो ।

यसै गरी नेवार समुदायले आजको दिनलाई योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका रूपमा मनाएका छन् । योमरी अर्थात् मनपरेको रोटी पनि नयाँ धानको चामलबाट बनाउने परम्परा रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग बताउनुहुन्छ । नेवार समुदायमा पनि धानलगायत यसवर्ष उब्जनी भएको नयाँ अन्नबालीलाई पूजा आराधना गरिन्छ । बिहानैदेखि नेवार समुदायका मानिस स्नान, घरको सरसफाइ गरी योमरी बनाउन थाल्छन् ।

नयाँ धान कुटेर चामलबाट बनाएको पिठोमै योमरी बनाउने गरिन्छ । हिमाल, पहाड, तराई सबैतिरको धान मार्गशीर्ष शुक्ल पूर्णिमासम्म भित्र्याइन्छ । धान भित्र्याएपछि कुनै न कुनै रूपमा भगवान्लाई अर्पण गरेरमात्र खाने परम्पराका आधारमा यी पर्व मनाउन सुरु गरिएको हो ।

नेवार समुदायले आजको दिनलाई ज्यापू दिवसका रूपमा पनि मनाउँछन् । नेवारभित्र पनि विशेषगरी खेतीपातीमा संलग्न हुनेलाई ज्यापू भनिन्छ । उनीहरूले उब्जाएको धानबाट योमरी बनाइने भएकाले आजको दिनलाई ज्यापू दिवसका रूपमासमेत मनाउने गरिएको हो ।

प्रकृतिपूजक किराँतले मनाउने उद्यौलीको भाव पनि नयाँ अन्नको पूजा किराँत समुदायले भने आजको दिनलाई उद्यौली पर्वका रूपमा मनाएका छन् । पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन् । प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।

किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उद्यौलीका नामले चिनिने बताउनुहुन्छ । किराँत समुदायभित्रका फरक–फरक थरले फरक रूपमा मनाउने पर्वको पनि भाव भने एउटै छ ।

किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेष रूपमा मनाइएको छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने अनुसन्धाता राई बताउनुहुन्छ ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उद्यौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमासमेत लिइने राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमामाथि लेकमा जाने रूपमा पनि उद्यौली र उभौली पर्वलाई लिने गरिन्छ ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उद्यौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

खसआर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उद्यौली पर्वको भाव भने एकै छ । नयाँ अन्नबाली भित्र्याएपछि आ–आफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परागत नियमको पालनामा तीनै पर्व केन्द्रित हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button