राजनीति

संचारमाध्यमप्रति विवेकशील साझाको असन्तुष्टि

विवेकशील साझा पार्टीले गत केही समयदेखि कतिपय प्रकाशनहरूमा पार्टीकाबारे आएका भ्रामक समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै असन्तुष्टि पोखेको छ ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गरी सार्वजनिक भएका कतिपय समाचारहरु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने हुँदा, पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणा सहित प्रकाशन गरिदिन अनुरोध गरिएको छ ।

पार्टीका अनुसार बाहिर आएको समाचारको तथ्य यस्तो छ, विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टिकरण सोधेको साँचो हो । त्यसबाहेक, विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टिकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन । केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो, त्यो कारबाही होइन ।

पार्टीको बागमती प्रदेशका सहसंयोजकले राजीनामा दिनुभएको हो तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग भएको होइन ।

मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण सोधेको छैन। निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको हो, जुन पार्टीले बुझाइसकेको छ।

“राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णय विरुद्ध उजुरी दिनु परेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नु पर्ने हुन्छ ।”

“पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य रहँदैन र सोही कुरा हामीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.