क्रिकेटखेल

क्रिकेट खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा आपत्ति जनाउँदै खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने चेतावनी दिइएको छ।

क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको छ महिना सहभागी नगराउने निर्णयसमेत गरेको थियो ।

क्रिकेट खेलाडीको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको स्मरण गराउँदै सिप्यानले खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी सिप्यानले क्रिकेट खेलाडीको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत, त्रुटिरहित, तथ्यपरक र वैज्ञानिक बनाइनुपर्ने मागसमेत गरेको छ ।

क्यान र खेलाडीको बीचमा रहेको यस विषयसँग सम्बन्धित तीक्तता मेटाई खेलाडीको मनोबल उच्च बनाउनाका साथै नेपाली क्रिकेटको भलो हुने कदम उठाउनुपर्ने आवश्यकता रहेको सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button