जन सरोकारजल/वातावरण

शे फोक्सुण्डो निकुञ्जमा कर्मचारी छैनन् : ड्रोनबाट निगरानी

शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको उपल्लो डोल्पामा रहेका चारवटा सुरक्षा पोष्ट कर्मचारीविहीन छ । जम्मा आठवटा सुरक्षापोष्ट रहेको निकुञ्जमा हाल चार पोष्ट कर्मचारीविहीन भएका हुन् । शे गुम्बा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीपोष्टमा कर्मचारी नहुँदा नियमित वन्यजन्तु संरक्षणमा समस्या भएको छ ।

सदरमुकाम नजिकै रहेका तोइजम, सुम्दुवा र मुख्य कार्यालय सुलिगाडमा मात्र कर्मचारी छन् । एकसय एक कर्मचारीको दरबन्दी रहेको निकुन्जमा अधिकृत तीन, रेन्जर छ, नायब सुब्बा एक, लेखापाल एक, खरिदार दुई, सिनियर गेम स्काउट १३, गेम स्काउट ३९, कार्यालय सहयोगी एक गरी ६६ जना कार्यरत छन् ।

लालबहादुर भण्डारी अहिले निकुन्ज प्रमुख हुनुभएको छ तर अन्य दुई अधिकृत खाली छ । शे गुम्बामा, नाम्दो, सालदाङ र मुगुमा रहेको किम्रीमा कर्मचारी नहुँदा काम गर्न मुस्किल भएको छ । हिमपातका कारण देखाउँदै उपल्लो डोल्पामा सुरक्षागस्ती नै बन्द गरिएको छ । हिमपातले बाटोमा पहिरो गएको भन्दै नाउर, हिउँचितुवालगायत वन्यजन्तुको निगरानीसमेत प्रभावकारी हुन सकेको छैन ।

कर्मचारी बस्न नसक्ने र भारी हिमपात हुने ठाउँमा अघिल्लो वर्ष तत्कालीन कार्यालय प्रमुख सरोजमणि पौडेलले जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट ड्रोन क्यामेराका साथै अन्य प्रविधिमार्फत निगरानी गर्ने निर्णय गराउनुभएको थियो तर त्योभन्दा पछाडी दुईपटक कार्यालय प्रमुख फेरिसके पनि निर्णय भएसँगै सम्भाव्यता अध्ययन गर्ने भनिएको काम अहिलेसम्म प्राथमिकतामा पर्न सकेको छैन ।

सोमबारदेखि नै हिउँ चितुवाको आहारा हुने प्राजतिको गणना सुरु गरिएको डब्लुडब्लुएफ नेपालका ‘फिल्ड अफिसर’ चन्द्रजङग हमालले जानकारी दिनुभयो । उहाँका अनुसार झारल, कस्तुरी, मृग, फेमुसा, चिरु र तिब्बती गधासमेत गणना हुने भएको छ । डब्लुडब्लुएफको प्राविधिक सहयोगमा अध्ययन, अनुसन्धान, हिउँ चितुवाको बासस्थानलगायत विषयमा समेत अध्ययन भइरहेको उहाँको भनाइ थियो ।

निकुञ्ज डाँफे, मुनाल, चिरलगायत २०० प्रजातिका पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले निकुन्जलाई जैविक विविधतायुक्त बनाएको छ । आहार र बिहारका दृष्टिले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान रहेको अनुसन्धानबाट खुलेको अधिकृत हमालले बताउनुभयो ।

अघिल्लो गणनाअनुसार निकुन्जमा नावरको सङ्ख्या दुई हजार ४२ बाट बढेर चार हजार १३६ पुगेको थियो । वर्षमा दुई पटक नाउरको गणना हुने गर्दछ । हिउँ चितुवाको मुख्य आहारा नाउर हो । निकुञ्ज क्षेत्रमा हिउँ चितुवाले नै सबैभन्दा बढी नाउर र चौरी–याक मार्ने गरेको छ ।

जानकारका अनुसार हिउँ चितुवाको घनत्व बढी भएका कारण पशु चौपाया मारिने क्रम वृद्धि भएको छ । निकुञ्जभित्र दुईवटा हिउँ चितुवामा “स्याटेलाइट जिपिएस कलर” जडान गरेर तिनको निगरानी र अन्य सबै कुराको रेखदेख हुँदै आएको छ ।

विसं २०७८ जेठ ५ गते तीन हजार ९२५ मिटर उचाइको साल्दाङ ब्लकको राप्का भन्ने स्थानमा ३७ किलोको सात वर्षे र ११ गते तीन हजार ७१९ मिटर उचाइको साल्दाङकै धोरा भन्ने स्थानमा ३८ किलोको छवर्षे हिउँ चितुवाको घाँटीमा स्याटेलाइट कलर जोडिएको थियो । ती दुवै भाले हुन् ।

कलर जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा पर्छ । यी हिउँ चितुवा चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । पहिलो हिउँ चितुवाको नाम “घाङ्ग्री धापी हिउल” र दोस्रोको “लाङ्गेन” राखिएको थियो ।

यसअघि गतवर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँ चितुवा (सामलिङ र जेबोरोङ) को मृत्यु पछि दोस्रो पटक फेरि स्याटेलाइट कलर जडान गरिएको थियो । विसं २०७५ को भदौ १५ मा निकुञ्जका चारवटा हिउँ चितुवामा स्याटेलाइट जडान गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार थप दुई वटामा यो पटक स्याटेलाइट कलर राखिएको हो ।

राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को प्राविधिक र डब्लूडब्लूएफको आर्थिक सहयोगमा स्याटेलाइट जडान गरिएको हो । स्याटेलाइट कलर जडानपछि हिउँ चितुवाको आनिबानी, व्यवहार, विचरणको व्यवस्थापन, अन्तरदेशीय सहकार्यलगायत हिउँ चितुवाको र यसको आहार प्रजाति संरक्षणको पहिचान गरी रणनीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जडान गरिएको स्याटेलाइट कलरले प्रत्येक चार घण्टामा हिउँ चितुवाको अवस्थिति (जिपिएस लोकेसन) प्राप्त हुने गरेको छ । यो कलरले १८ महिनासम्म तथ्याङ्क दिन्छ । निकुञ्जमा हाल हिउँ चितुवा १२० देखि १३० वटा सम्मको सङ्ख्यामा रहेको एक अध्ययनले देखाएको छ । डब्लुडब्लुएफ र निकुञ्जको सहकार्यमा रेडियो कलरिङ(जिपिएस) मार्फत हिउँ चितुवाको सङ्ख्या पत्ता लागेको हो ।

सन् २०१९ मा जेब्रम र स्याम्लिङ नामक हिउँ चितुवालाई रेडियो कलरिङ(जिपिएस)जडान गरिएको र केही समय पनि दुवैको मृत्यु भएको थियो । अहिलेसम्मको विवरणअनुसार हिउँ चितुवाको अवस्था राम्रो रहेको बताइएको छ । तीन हजार ५५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका साथै माथिल्लो डोल्पासम्म फैलिएको छ ।

मुगुको मुगमकार्मारोङ गाउँपालिकाले पनि निकुञ्जको ८२९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), बेज चुचुरो (७,१३९ मिटर) जस्ता हिम शिखर र कतिपय हिम नदीले निकुञ्जलाई सुन्दरता बढाएको छ । निकुञ्जको लगभग मध्यभागमा नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो तालसमेत छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button