जन सरोकार

ग्रामीण क्षेत्रका हरेक पाँचमध्ये एक बालबालिका विकासका लयभन्दा बाहिर

ग्रामीण क्षेत्रका कम आए भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । उक्त अध्ययनले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थासमेतमा असर पारेको उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असर बारे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तरराष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा उक्त तथ्य फेला परेको हो । अध्ययनले उनीहरुको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको औँल्याएको छ ।

हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखदेखमा रहेका बालबालिका तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिममा छन् ।’ प्राप्त विवरणअनुसार हरेक पाँचमध्ये एक बालबालिका विकासका लयभन्दा बाहिर छन् ।

उक्त प्रारम्भिक बाल विकास सूचकाङ्क सर्वेक्षण दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकामा गएको अगस्टमा गरिएको थियो । बालबालिकाको विकासको आवश्यकता र स्थिति बुझ्नका लागि राष्ट्रव्यापीरूपमा यो सर्वेक्षण गरिएको थियो । बालबालिका भएका दुई हजार ८५३ घरधुरीमा सर्वेक्षण भएको जनाइएको छ ।

फोनमा आधारित उक्त सर्वेक्षणले महामारीले निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा रहेको उल्लेख छ ।

हेरचाहकर्तासँग किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप उनीहरूको विकास र सिकाइको लागि महत्वपूर्ण भएको पाइएको छ ।

यद्यपि, पूर्व–महामारी अवस्थाको तुलनामा अभिभावकको सङ्लग्नतामा कमी आएको देखाएको छ । गएको अगस्टमा निषेधाज्ञा खुकुलो भएको तर मानिसको जीवन प्रभावित रहेकोे समयमा ३१ प्रतिशत बालबालिका घरका प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए । सन् २०१९ मा ७३ प्रतिशत बालबालिका त्यस्ता क्रियाकलापमा सहभागि भएको पाइएको छ ।

अक्टोबर महिनामा गरिएको थप सर्वेक्षणअनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाको सङ्लग्नतामा सुधार भएको तर सामाजिक मानक कायम राख्दै बुबाको अभिभावकत्वको सङ्लग्नता भने न्यून (छ प्रतिशत) मात्र देखिएको छ । सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिको सिकाइमा सङ्लग्न भएका थिएनन् ।

धेरै जसो बालबालिकाको घरमै ट्यूशनमा पहुँच थियो । अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट गरेका वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका पाइएको उल्लेख छ ।

रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाइजस्ता न्यून–प्रविधिसहितका समान पनि कम मात्रै प्रयोग भएको पाइएको छ । अनलाइन कक्षाजस्ता उच्च–प्रविधिसहितका समान निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकाबीच मात्र प्रयोगमा आयो । कम–प्रविधिसहितका समान र उच्च–प्रविधिसहितका समानको असमान पहुँचले गर्दा निजी प्रारम्भिक बाल शिक्षा र अन्य बालबालिका बीचको विकासात्मक अन्तर देखिनसक्ने औँल्याईएको छ ।

गुणस्तर बढाउन सस्तो छ सुझाव

सबै बालबालिकाले आफ्नो विकासका सम्भावना महसुस गर्न र थप सिक्नका लागि तयार हुने कुरा सुनिश्चित गर्न, सर्वेक्षणको नतिजाको आधारमा, युनिसेफले सरकार, विकास साझेदार, शिक्षक, अभिभावक र अन्य सरोकारवालाका लागि केही सुझावसमेत प्रस्तुत गरेको छ ।

उपचारात्मक सिकाइका लागि प्रभावकारी हस्तक्षेपमार्फत विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गर्न सुझाव दिएको छ । यस्तै ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको रेखरदेखमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका वा सरकारी सहयोगमा चलेका प्रारम्भिक बाल शिक्षा कार्यक्रममा भाग लिने बालबालिकालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मूल्याङ्कन तथा पढाइ सिकाइ निर्देशिकामार्फत प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइस्तर बुझ्न शिक्षक र अभिभावकलाई सहयोग पुग्ने प्रणालीको विकास गर्न समेत सुझाव दिइएको छ ।

विद्यालय बन्द हुने समयमा राष्ट्रिय आपतकालिन कार्ययोजनामा तोकिएका वैकल्पिक सिकाइ माध्यम प्रयोगमा परिवारलाई सङ्लग्न गराउन तथा आमाबाबु र हेरचाहकर्ताले घरमा बालबालिकाको सिकाइलाई सहयोग गर्न चाहिने निरन्तर प्रोत्साहन र मार्गदर्शन पाउने गरी, बुवाको सङ्लग्नतामा ध्यान केन्द्रित गर्न भनेको छ । यसका लागि गर्भधारणको अवस्थाबाट नै सुरु हुने गरी बहु–क्षेत्रीय सहकार्यमार्फत अभिभावक शिक्षालाई सुदृढ बनाउन सुझाव दिइएको छ ।

अभिभावकले बालमैत्री पुस्तक पढ्ने, कथा सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने, वस्तुको नामकरण गर्ने, चिजहरू गन्ने वा सँगै चित्र कोर्ने जस्ता गतिविधि गरेर बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप वृद्धि गर्नुपर्ने आवश्यकता अध्ययनले औँल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button