जन सरोकार

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो टिकट

पर्यटनमन्त्री प्रेम आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि नेपाल वायुसेवा निगम (नेवानि)ले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

निगम मुख्यालयमा आयाजित कार्यक्रममा मन्त्री आलेले उहाँले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताउनुभयो । उहाँले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिनुभयो ।

उहाँले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गर्नुभयो ।

उहाँले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button