राजनीति

सरकारले काम गर्न नपाएपछि ताजा जनादेशको निर्णय : रायमाझी

टोपबहादुर रायमाझी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीभित्र विवाद सिर्जना भई सरकारलाई काम गर्न नदिइएकाले बाध्याताबस प्रधानमन्त्री केपी शर्मा ओली ताजा जनादेशको निर्णयमा पुग्नुभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा नेता रायमाझीले आफ्नै पार्टीका सांसदहरुले विशेष अधिवेशन माग गरी सरकारविरुद्ध अविश्वासको प्रस्ताव गरिनु विडम्बना भएकाले त्यस्तो अवस्थामा प्रतिनिधिसभाको औचित्व नहुने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “एकातिर सरकारले काम गरेन भन्ने अर्कातिर अविश्वास प्रस्ताव ल्याएर काम गर्न नदिने प्रतिपक्षीबाट पनि नभएको व्यवहार नेकपाकै सांसदबाट हुनु दुःखद् हो । यस्तो स्थितिमा ताजा जनादेशमा जानु सबैभन्दा उत्तम विकल्प हो । सरकारले काम गरेन भन्नेहरु चुनावमा जानबाट डराउनु हुँदैन ।”

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै आफूहरु सर्वोच्च अदालतको फैसलापछि निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले संविधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरेको आरोप लगाउनुभयो । नेकपाका नेता कृष्णभक्त पोखरेलले अदालतले विघटनको निर्णय बदर गराउने अपेक्षा व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button