वैकल्पिक राजनीतिको नाममा ढोंग मात्र भयो
नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी त्याग
युवाहरुमाझ चर्चित रहेकी विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले पार्टी नेतृत्वमाथि ढोंग गरेको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गर्नुभएको छ ।

बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको भन्दै विवेकशील साझा पार्टी छाडेको घोषणा गर्नुभएको हो ।
“विसं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उतावचढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ । तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।” अध्यक्ष मिश्रलाई लेखिएको पत्रमा उल्लेख छ ।
दर्शनाले नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उल्लेख गर्दै “संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको” आरोप लगाउनुभएको छ ।
रञ्जुले पत्रमा वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु । तसर्थ यसै ईमेल र पत्र मार्फत सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्