राजनीति

खुल्यो सभामुखको मुख- "सरकार गठन हुने विकल्प रहँदासम्म संसद विघटन हुन्न"

प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचनको घोषणा भएको चार दिनपछि सभामुख अग्‍निप्रसाद सापकोटाले मुख खोल्नुभएको छ । उहाँले बुधबार एक विज्ञप्ति जारी गरी प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरिएको बताउँदै संसद विघटन नभएको संकेत दिनुभएको छ ।

उहाँले भन्नुभम्एको छ ‘संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस र शक्ति पृथकीकरण सन्तुलन र नियन्त्रण कायम राख्‍न सकियोस भन्‍ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो ।’

सभामुख सापकोटाले विज्ञप्तिमा विगतको विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यस मार्फत समृध्दिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य स्मरणीय रहेको उल्लेख गर्दै नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ भित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ ।

सभामुख सापकोटाले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलबीच उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको र संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरू, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुध्दिजीवी, सञ्‍चारजगत् तथा सम्बध्द सबै पक्ष संवेदनशील र गम्भीर बन्‍नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button