बिचार

कालो वादलका किनारमा चम्किएका ताराहरुलाई…

ने.का को १४ औं महाधिवेशन औपचारिक रुपमा मंसीर २६ गते समुद्घाटित भई कुनै औपचारिक समापन कार्यक्रम नभएकोले सायद २८ गते मध्यरातसम्म मतदान गरिसकेपछि समापन भएको मान्नुपर्छ होला । मंसीर महिनाको पूर्वाद्धमा एमालेको महाधिवेशनको वडो तामझामका साथ जसरी पुरानै अध्यक्षलाई नै पुन नविकरण गरी राजनीतिक दल सम्बन्धी ऐन (२०७३) ले तोकिदिएको “रश्म पूरा” गर्ने प्रक्रिया टुंगाएको थियो । त्यसरी नै नेपालको जेठो पार्टी (ने.का)ले त्यस्तै “कर्मकाण्डी प्रक्रिया” पूरा गर्यो ।

नेपाल र नेपालीको भाग्य र भविष्यका नियन्ता वा अघि निर्माणकर्ता बनेका नेपालको दुई ठूला दलले विगतमा के के गरे गरे, जुन जुन पार्टीका र पुनः निर्वाचित भएका नेताले जे जस्तो गरे त्यो इतिहास अतीतको चिहानमा गाडिइसकेकोले त्यसबारे सम्झना गर्नुभन्दा बिर्सनु नै वेश छ ।

त्यतातिर नजाउँ । त्यत्रो ठूलो तामझाम र राम रमिता गरी महाधिवेश महोत्सव मनाएका नेपालका प्रतिस्पर्धी मुख्य दुई ठुला दलले निकट भविष्यमा नै संवैधानिक वाध्यात्मक व्यवस्थाको शर्त पूरा गर्नुपर्ने प्रतिनिधिसभाको निर्वाचनमा जाँदा आ–आफ्नो पार्टीले के कस्तो नीति, कार्यक्रम सहित आम मतदाता समक्ष आगामी (पाँच वर्षको निमित्त शासनादेश माग्न जाने हो ? त्यसको विषयमा ठोस् कार्यक्रम ल्याई पारित गरिएको हुनु पर्दथ्यो, ल्याइएन । नेता बन्ने र चुन्ने हुट्हुटीसँगै महाधिवेशन शुरु र समाप्त भए ।

आम नेपाली जनताले कुन दलले कस्तो नीति, कार्यक्रम र कार्यदिशा निर्धारण गर्यो भन्ने विषयबारे चासो राख्ने र त्यस्ता कुरामा भरपत्यार नगरेको थियो, नगर्ला । तथापि, हरेक मुनाफामुखी सार्वजनिक र निजी क्षेत्रका कम्पनीहरुलेसम्म पनि आगामी साधारणसभासम्मका निमित्त नीति, नियम र कार्ययोजना सर्वाधिकार सम्पन्न साधारणसभाबाट विधिवत् पारित गराईराख्नुपर्छ र राख्छन् भने राज्य संचालनको अभिभारा लिनुपर्ने राजनीतिक दलहरुले आ–आफ्ना सार्वभौम अधिकारप्राप्त सर्वाेच्च निकाय महाधिवेशनकै साविकदेखिको विँडो धान्नुपथ्र्याे कि पर्दैनथ्यो ?

सायद यो पंक्तिकारले थाहा नपाएको मात्र हो कि त्यस्तो वन्दसत्रमा कुनै दस्तावेज पेश हुने, समूह बनाई छलफल गर्ने र महाधिवेशन प्रतिनिधिहरुबाट राय सुझाव आएका भए ती समाहित गर्ने नगर्ने, भनी पूर्ण वैठकमा पेश गरी महाधिवेशबाट पारित हुनुपथ्र्याे । त्यस्तो दस्तावेज (नीति, कार्यक्रम, प्रतिद्धता समेटिएको घोषणा पत्र) नै सम्बन्धित पार्टीको गीता, गायत्री जस्तो अनुल्लंग्य पवित्रतम् आदर्शको पुलिन्दा बन्थ्यो । पंक्तिकारले भोगे, देखे, जाने, बुझे र पढेको पार्टी महाधिवेश गर्नुको अर्थ र प्रयोजनीयता यही र त्यही थियो ।

तर, त्यो पाटो र सिंगो “कर्मकाण्डी” प्रक्रिया छोडियो, तोडियो । अघिल्लो दिन भीषण भाषण गर्ने र दोस्रो दिन नेतृत्वमा जाने उम्मीद वोकेकाहरुको निर्वाचनको विधि निर्धारण र मनोनयनपत्र पेश गर्नेतिर सबै लागे । त्यसरी नेतृत्वमा पुग्ने रहर गरेकाहरु र नेतृत्व हत्याई त्यसमाथि आफ्नो स्थायित्व स्थापित गर्दै आएकाहरु सबैले निर्वाचनको हुटहुटीले “महाधिवेशन भनेको नेतृत्व छान्ने हो” भन्ने वाहेक केही बुझेको देखिएन ।

निर्वाचनको लोकतान्त्रिक प्रक्रिया प्रवेश गरेपछिको जेजस्तो उदेकलाग्दो भनौं कि वैरागलाग्दो भनौं अथवा अशोभनीय लोकतान्त्रिक न्यूनतम, मर्म भावनासँग नमिल्दो प्रयोगको परिदृृश्य सौराहादेखि भृकुटीमण्डपसम्ममा जुन देखियो, सुनियो त्यसबाट म कहाँ आएँ, के कस्तो सोच्न, देख्न, भोग्न नसके नपाएको “नित नूतन” परिदृश्य र परिवेशभित्र पसेको देश फसेको जस्तो वोध भयो । कोही उम्मेदवार पिता पूर्खाको “विरास” बोकेर नेतृत्वमा आफ्नो वपौती, हकदावी र अधिकार बोकेर आएका देखिए । कोही आफन्तको मरवटको हकदार र अपुताली स्याहार्ने पहिलो र एकमात्र व्यक्ति आफू मात्र भएको भन्दै गरेका रहेछन् ।

त्यतिमात्र होइन । चाहे जेजस्तो कारणले कारागार बसेको होस्, म निर्वाचन लड्ने होइन, सर्वसम्मतिले मैले नै नेतृत्व पाउनुपर्छ, किनकि आफूले यति वर्ष जेल नेल भोगेको थिए” भन्दै रुँदै गिडगिडाउँदै र प्रतिस्पर्धामा अरु अगाडी नआइदिउन् भन्दै मत नभई टोपी थाप्दै गरेका पनि देखिए ।

अझ टाढाका कुनै ठाउँमा पुग्दा “अपूर्व र अपरिकल्पित उन्नत लोकतान्त्रिक अभ्यासको नितान्त नयाँ भाष्य सुनाउँदै गरेका जङ्गबहादुरका नयाँ वारेसले “मैले इस्तिहार जारी गरेको सूचीमा नाम परेका आफ्ना दास र दासानुदासलाई मात्र उम्मेदवार बन्नेसम्मको, र अन्य आसे, पासे, गाँसे भजने–भोजनेहरुलाई “हाम्रा हजूरका आज्ञा–आदेश हुकूम बक्सेकालाई मतदान गर्ने हक–अधिकार आफूबाट बक्स भएको” फर्मान जारी गरिरहेको पनि सुनियो ।

सायद आफूले देखे, सुने, पढेको लोकतान्त्रिक प्रणालीभन्दा आफूले भोगिरहेको नितान्त नयाँ, नौलो संघीय लोकतान्त्रिक गणतन्त्रात्मकसँगै “जनताको बहुदलीय जनवादी शासन व्यवस्था भनेको यस्तो हुने रहेछ क्यार ! भन्ने लाग्यो ।

यस्तो अपूर्व “उन्नत लोकतन्त्रात्मक अभ्यास”को महाभारतमा सहभागी हुनेलाई जेजस्तो जय पराजयको संशय, संत्रास, संविभ्रमले जति सताई र तताई रहेको होला, त्यो सबै परिदृश्यलाई एकटकले निर्निमेश भई नियाल्दै गरेको पात्र ‘वर्वरिक’लाई सायद त्यति नै सुखानुभूति भयो होला । यो नितान्त आत्मानूभूतिको निष्कर्षात्मक अभिव्यक्ति हो ।

तर कुनै पनि परिष्कृत र निस्पादित दर्शन, सिद्धान्तको अनुकृतिलाई नै राजनीति ठान्ने दिशाशून्य र दूरदृष्टि विहिन “षड्यन्त्र, जालझेल र फट्याई, घूत्र्याईलाई नै राजनीतिक खेल” मान्नेहरुको भीडले जुन देश हाँकिरहेको हुन्छ, हाँक्न पुग्छ, त्यस्तो देशको समग्र अधिशासन प्रशासनको परिवेश र परिदृश्य यसभन्दा फरकको परिकल्पना गर्नु “कागती रोपेर हलुवावेद खाने सपना देख्नु” भन्दा फरक होइन भन्ने लाग्छ ।

यस्तो अभ्यासकालमा हुर्किने, सप्रिने, मौलाएर सबैतिर पुग्ने र “जो जति शक्तिशाली दल र नेता छ उसले त्यति नै राज्यका संवैधानिक अंग–प्रत्यङ्गसम्म भ्रष्टाचारको ‘भाइरस’ घुसाउने फैलाउने रहेछ । भ्रष्टाचारको संजाल र भाइरस फैलाउने मात्र नभएर कुख्यात माफिया, डन, गुण्डा, तस्कर, कालाबजारिया, हत्यारा, अत्याचारी र दुराचारीहरुको दह्रो–बलियो छहारी र संरक्षक बनिदिएर त्यतैतिर तन्मयतासाथ लाग्ने गरेको”भन्ने आम जन जनका मनमथिङ्गलमा अमीट छाप परिसकेको रहेछ ।

अहिले पहिलेभन्दा निराशा चारैतिर फैलिएको छ । नेता, कार्यकर्ता र दुवै हातले सोहोर्ने लुँड्याउने र उनका आसपासमा बस्न नपाएका बाहेकमा सबैतिर असन्तोष उदासीनता हताशाका भारी बोक्नेहरुकै बाहुल्यता र वर्चस्व देखिँदैछ । आफूले आजसम्म राज्यबाट “विकासको लागि गरिएको भनिएको हजारौं अर्ब र खर्चको प्रकाश आफ्नो छाप्रो कटेरोमा नपुगेका, राष्ट्रिय लगानीका प्रतिफल वापत सूको दाम नदेखे नपाएका, वैदेशिक ऋणको झण्डै ६०–६५ हजार आफ्नो थाप्लोले वोकेको थाहै नपाएका “भूईंमान्छे” निराश र उदास देखिए ।

त्यसैले होला, “कुन पार्टी सरकारबाट बाहिरियो ? को शासनसत्ता नियन्ता बन्यो ? कुन दलको महाधिवेश कहिले कहाँ भयो र कस्ले नेतृत्व हत्यायो”? भन्नेबारे पत्तै नपाइ वास्तै नभएका सीमान्तीकृत, दूरदराजका वासिन्दा र सोलोडोलोमा भन्नुपर्दा भुईंमान्छे “कोई होय नृप, हमें काहानी ” भन्दै गरेको पाइयो ।

त्यति हुँदाहुँदै पनि उदाउँदै अनिष्ट ग्रहले घेरिएका ग्रहण लागेका लिङ्देल जस्ता युवाले नेतृत्व पाए लिए भनेर त कति आशावादी भए होलान् । फोहोरैफोहोरको थुप्रोले ढाकेको पोखरीमा उनले कस्तो तरङ्ग ल्याउँछन् ? भोलि मात्र थाहा हुने छ । उनी वाहेक समयले एक्काइसौं शताब्दीको दोस्रो दशकले संघार पारिगरिसक्दा पनि बिसौँ शताब्दीका पूर्वाद्धका वेनिग्नो मुसोलिनी र एडोल्फ हिट्लर वा जोसेफ स्टालिन शैलीमा, हँसिया, हथौडा अंकित झण्डा सगरमाथामा गाडेर “समृद्ध नेपाल, सुखी नेपाली”को गुड्डी हाँक्ने खुट्टी नचल्नेले पनि कुनै लछारपाटो लगाउन सक्ने रहेनछन् भन्ने पनि गएको साढे तीन वर्ष शासनसत्ता र दलको नेता बनेका व्यक्तिले पुष्टि गरिसकेका छन् ।

त्यस्ता नेताबाट उट्पट्याङ, तुकवन्दी र उखानटुक्का हालेर भाँडहरुले नजानेका गालीका शब्द प्रयोग गरी घण्टौ परपीडक प्रवृत्ति र भृत्य चरित्रका आसेपासे व्यक्तिलाई धारा प्रवाह मज्जाले हँसाउन सफल होलान् । तर, उनको हातमा ठूलो पार्टीको नेतृत्व पुनः प्राप्ति भयो भनेर पनि आशा भरोसा गर्नेको संख्या सानै देखियो ।

यस्तै उराठ र वैरागलाग्दो परिस्थिति परिवेशलाई उपेक्षा गर्दागर्दै पनि देख्न र भोग्न बाध्य भएको बेलामा नेपालको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसभित्र नै सायद सबैभन्दा पहिले युवापुस्ता अगाडि आउनु र ल्याउनुपर्छ भन्ने अवाज उठ्दै थियो । व्यवहारमा भने सबैभन्दा कान्छो ने.क.पा (एकीकृत समाजवादी) पार्टीले ४० चालीस वर्षभन्दा कम उमेरकी रामकुमारी झाँक्रीलाई मन्त्री पदमा पुर्याएर कीर्तिमान कायम गर्यो । तर “युवा पुस्ताको भाष्य परिभाषा” उनीहरुको अवधारणा दूरदृष्टि र तदनुरुपको समयवद्ध नआए नल्याएसम्म जन्मपत्रिका (चिना) र टिप्पन हेरेर को अगाडि आउने र को पछाडि जाने भनेर छुट्याउनु र खट्याउनुको अर्थ प्रयोजनीयता हुँदैन देखिन्न ।

उमेर र वलशाली भए मात्र दलको नेतृत्व प्रभावकारी र शक्तिशाली हुने होइन । विचार दृष्टिकोण, योजना कार्यक्रम समय सापेक्ष हुनुप¥यो । नेतृत्व गर्ने भनेको युद्ध मोर्चामा जाने र म्याराथन जित्नेभन्दा फरक कुरा हो । वय र कायको वलले देश र दलको नेतृत्व गर्ने होइन भन्ने ठोस साक्ष सोध्न– खोज्न आम मतदाताले ९२ वर्षको उमेरमा पुनः शासन सत्तामा ल्याइएका मलेशियाका महाथिर मोहमदकहाँ पुग्नु पर्दैन । स्वयं ने.का. का जीवन पर्यन्त सार्वभौम नेता बनेर शताब्दीको पूर्णायू पूरा गर्न डेढ दशक पनि बाँकी नरहेका गिरिजाप्रसाद कोइरालालाई संझे पुग्दथ्यो । जेहोस्,

आशावलवती …..

नेपालको समकालीन राजनीतिक आकाशमा घनघोर घनघटाले निस्पट्ट अँध्यारो बनाइरहेको बेला ने.का.का महाधिवेशनमा आएका प्रतिनिधिहरुले पहिलो पटक पुस्तान्तरणका मुद्दा सशक्त रुपमा उठाउँदै गरेका युवाहरुलाई नेतृत्व तहमा जुन पुर्याए । त्यस्ले एउटा झन्झावातको झोँक्का र धक्का पक्कै ल्याएको छ भन्ने लाग्छ ।

तर जेठो ने.का पार्टीले जे जस्तो प्रशंशनीय प्रयास गर्यो त्यसलाई १५ औं महाधिवेशनमा पनि अझ बढी त्यस्तै उर्जाशील युवाहरुको उल्लेख्य बहुमत सहित नेतृत्वमा ल्याउनुपर्ने रहेछ भन्ने सन्देश यसपटक नेतृत्व तहमा उदाएका युवा नेताले दिन सक्छन् कि सक्तैनन् ? यस्तो सन्देश ने.का.को १५ औं र उप्रान्तमा महाधिवेशमा आउने प्रतिनिधिहरुका मथिङ्गलमा पु¥याएर घुसाएर मात्रै नभएर अन्य राजनीतिक दलका नेतृत्व चयन गर्ने जिम्मेदार प्रतिनिधिका दिल दिमागभित्रसम्म पु¥याउनुपर्ने ठूलो चुनौती समेत यी युवा अगुवाका काँधमा आएको धेरैको ठम्याई रहेको छ ।

यस्तो आशा, भरोसा र विश्वासका साथ नेपालीको आकाशमा धेरै समयदेखि छाएको कालो वादल फाट्न र फाल्न किनारातिर उदाएका चम्किएका ताराहरुलाई सफलता प्राप्त होस् । हार्दिक शुभकामना सहित बधाई !

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button